स्याङ्जामा राष्ट्रिय क्रसकन्ट्री दौड हुँदै
स्याङ्जा : पुतलीबजार नगरपालिका-९ कोल्माको बराहचौरमा पुस ७ गते चौथो संस्करणको क्रसकन्टी दौड प्रतियोगिता गरिने भएको छ। सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागेको हो।
दौडअन्तर्गत खुल्लातर्फ २५ र १० तथा महिलाका लागि ५ किलोमिटरमा दौड प्रतियोगिता राखिएको मञ्चका महासचिव जीवनप्रसाद पोख्रेलले जानकारी दिए।
उनका अनुसार जुनसुकै उमेर र खुल्लातर्फ २५ किलोमिटर छ। २१ वर्षमुनिका लागि खुल्लातर्फ १० किलोमिटर राखिएको छ। महिलाका लागि ५ किलोमिटर गरी ३ विधाका दौड प्रतियोगिता हुने भएको छ।
कोल्मा बराहचौरदेखि सुरु गरिने दौड प्रतियोगिता काउँले-बहाकोट-राङभाङ डाँडा स्वारा-नाम्चे -काल्खु-राईपुर-ओरष्टे भन्ज्याङ् हुँदै पुनः कोल्मासम्मको लागि रुट तय गरिएको छ। दौड प्रतियोगिताले स्याङ्जा र तनहुँलाई जोडेको छ।
२५ किलोमिटरतर्फ प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ४० हजार, तृतीय हुनेले ३० हजारसहित ट्रफी र मेडल पाउनेछन्। १० किलोमिटरतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित ट्रफी र मेडल पाउनेछन्।
महिलातर्फको ५ किलोमिटरतर्फ प्रथमले १५ हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार नगद पाउने पूर्व महासचिव मन थापाले जानकारी दिए।
प्रतियोगिता २०७५ बाट सुरु भएको हो। कोरोनाका कारण २०७७ र २०७८ मा प्रतियोगिता स्थगित भएको थियो।