गोपाललाई स्वर्ण
काठमाडौं : तेक्वान्दो खेलाडी, प्रशिक्षक तथा अफिसियल रेफ्रिजर्ज गोपाल भण्डारीले अमेरिकामा स्वर्ण पदक जितेका छन्। अमेरिकाको भर्जिनियामा आयोजना भएको स्पार वार तेक्वान्दो च्याम्पियनसिपको मास्टर ४० वर्षमुनिको एकल पुम्सेमा गोपालले स्वर्ण पदक जितेका हुन्। उनले आफ्नो उमेर समूहका आठ जना प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण पक्का गरेका हुन्।
भर्जिनियाको क्यान्सेलर हाई स्कुल फ्रेड्रिकवर्गमा भएको च्याम्पियनसिपमा चार सयभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो। च्याम्पियनसिपमा नेपालका कुमार कार्की, सञ्जीव नेपाली र सन्दीपा अमगाईंले अफिसियल रेफ्रीजर्जको भूमिका निर्वाह गरेका थिए। कार्कीले अमेरिकामा वल्र्ड क्लास तेक्वान्दो एकेडेमी सञ्चालन गर्दै आएका छन्।
पछिल्लो समय गोपालले पनि सोही एकेडेमीमा प्रशिक्षण गराइरहेका छन्। नेपालमा उत्कृष्ट खेलाडी उत्पादनमा चर्चा कमाएका गोपाल पछिल्लो समय अमेरिकामा आफूलाई स्थापित गर्न लागिपरेका छन्। नेपालमा रहँदा उनले सीतापाइला डोजाङमा प्रशिक्षण गराउँदै आएका थिए।
यसैगरी पछिल्लो समय अमेरिकामै रहेका सञ्जीव र सन्दीपाले त्यहाँका विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्नुका साथै अफिसियल रेफ्रीजर्जको भूमिका पनि निर्वाह गर्दै आएका छन्।