रानीटारलाई उपाधि
फिदिम : फिदिममा सम्पन्न छैटौं तरुण गोल्डकपको उपाधि फिदिम नगरपालिका–८ रानीटारले जितेको छ। सदरमुकामस्थित फिदिम माविको खेल मैदानमा सम्पन्न फाइनलमा फिदिम–१ लाई १–० गोलले पराजित गर्दै रानीटारले उपाधि जितेको हो। रानीटारको जितमा अर्जुन गुरुङले निर्णायक गोल गरेका थिए। उनले खेलको अन्तिम समयमा गोल गरेका थिए।
उपाधिसँगै रानीटारले ५१ हजार एक सय ७१ नगद पुरस्कार प्राप्त ग¥यो। उपविजेतामा सीमित बनेको फिदिम–१ ले ३५ हजार एक सय ७१ रुपैयाँमा चित्त बुझायो। विजेतालाई नेपाली कांग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले पुरस्कार प्रदान गरेका थिए।
फिदिम १ का अतित आङ्बो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। रानीटारका सुरेश गुरुङ उत्कृष्ट गोलरक्षक, फिदिम–१ का सुरेशजंग क्षत्री उत्कृष्ट डिफेन्डर र फिदिम–१ कै सञ्जीव नेम्वाङ उत्कृष्ट फरवार्ड घोषित भए। खेल अवधिभर चार गोल गरेका रानीटारका नवराज गुरुङ सार्वाधिक गोलकर्ता बने।
उनीहरू सबैले दुई हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगिताको प्रथम पुरस्कार नेपाल बेलायत सम्पर्क समितिका नेता सूर्य नेम्वाङले प्रायोजन गरेको तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिए। यस्तै दोस्रो पुरस्कार नेपाली कांग्रेस पाँचथर काठमाडौं सम्पर्क समितिका लक्ष्मीनारायण तिम्सिनालगायतको टिमले प्रायोजन गरेको तरुण दलले जनाएको छ। आफ्नो ७१औैं स्थापना दिवसका अवसरमा नेपाल तरुण दल पाँचथरले फिदिम नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको हो।