सोल्टीमोडमा नेपाली सेनाका कर्मचारी मृत भेटिए
काठमाडौं : कालीमाटीको सोल्टीमोड चोकनजिकै सडक किनारमा नेपाली सेनाका कर्मचारी मृत भेटिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलका अनुसार चन्द्रागिरी ६ काठमाडौं घर भएका २६ वर्षीय सुमन कार्की मृत अवस्थामा फेला परेका हुन्।
उनी कार्की सोल्टीमोड दरबार बैंकेट अगाडि सडक पेटीमा लडिरहेको अवस्थामा मृत भेटिएका थिए। उनको साथमा नेपाल आर्मीको आइडी कार्ड रहेको छ।
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार उनको गणेश दल जंगी अड्डा भद्रकालीमा दरबन्दी रहेको थियो। उनी लेस नायक दर्जामा कार्यरत थिए।
घटनास्थलको नजिकमा रहेको बिजुलीको पोलमा ‘विनोद रेष्ट इन पिस’ लेखेर टाँसिएको कागज भेटिएको छ। घटनाको विषयमा प्रहरी वृत कालीमाटीले अनुसन्धान गरिरहेको छ। मृत्युको कारण खुलेको छैन।