कोसीमा एमालेलाई सँगै लिएर अघि बढ्न चाहन्छु : मुख्यमन्त्री
विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारमा नेकपा (एमाले)लाई समेत सँगै लिएर अघि बढ्न आफूले चाहेको बताएका छन्।
विराटनगरमा शनिबार पत्रकारहरूसँग छलफल गर्दै उनले परिवर्तनकारी शक्तिहरू एकजुट भएर प्रदेशको समृद्धिमा केन्द्रित हुनुपर्ने बताए। ‘म नेकपा (एमाले)लाई आग्रह गर्न चाहन्छु। तपाईंहरू (एमालेका प्रदेशसभा सदस्य)कै सहयोगमा म मुख्यमन्त्री बनेको हुँ। मध्यावधि रोक्न तपाईंहरूले गर्नुभएको उदाहरणीय कार्यलाई बिर्सिन सक्दिन,’ कार्कीले भने, ‘त्यही भएकाले एमालेलाई पनि सँगै लिएर अघि बढ्न चाहन्छु। प्रदेशमा सहमतीय सरकार निर्माणको बाटो बन्द हुँदैन। सबै सँगै जाउँ, प्रदेशको हितमा काम गरौं।’
गठबन्धनबाट विद्रोह गरेका नेपाली कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्कीले गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। शपथग्रहणलगत्तै उनले असोज २८ गते विद्रोही कांग्रेसका शम्शेर राई र एमालेका रामबहादुर रानामगरलाई मन्त्री नियुक्त गरे। शुक्रबार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराएपछि एमाले सरकारबाट बाहिरिएको छ। मन्त्री रानाले शनिबार पदबाट राजीनामा दिएका छन्।
संविधान जारी गर्दादेखि जनआन्दोलन सफल बनाउँदा दलहरूबीचमा भएको सहकार्यलाई मुख्यमन्त्री कार्कीले स्मरण गराएका छन्। ‘सहकार्यले नै दलहरु सफल हुने हो। अहिले पनि प्रदेशमा सबै परिवर्तनकारी शक्तिहरु एकजुट हुन आवश्यक छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘हिजो विश्वासको मत दिँदा सबै एकै ठाउँमा थियौं। एकअर्कामा दुराभाव नराखिकन अघि बढ्दा बाटो छेक्ने र अप्ठोरो पार्ने काम कोहीबाट हुन हुँदैन।’
उनले एमाले सरकारमा रहुनजेल माओवादी र एकीकृत समाजवादी आउन नचाहने तथा माओवादी सरकारमा आयो भने हामी निस्कन्छौं भनेर एमालेले भन्ने गरेको अवस्थालाई वार्ता र ‘टेबुल टक’ गरेर मिलाएको समेत दाबी गरे। ‘हामीले ‘टेबुल टक’ गरेपछि माओवादी र समाजवादी सरकारमा आउन राजी हुनुभयो। मुख्यमन्त्रीको प्रस्ताव स्वीकार गर्छौं र सहमतीय सरकारमा जान्छौं भन्नुभयो,’ कार्की भन्छन्, ‘प्रदेशको समृद्धि र सुशासनमा सामेल हुन्छौं भनेर उहाँहरू तयार हुनुभएको छ। सहमतीय सरकार गठन गरेर नयाँ हिसाबले अघि बढ्ने योजना छ।’
उनले सहमतीय सरकारमा सामेल भएर प्रदेशको समृद्धि र सुशासनमा जुट्न एमालेलाई आग्रह गरेका छन्। ‘म सहमतिको बाटोमा छु। त्यो अघिल्ला मुख्यमन्त्रीहरुकै एजेण्ड हो। अघिल्ला मुख्यमन्त्रीले संसदमा पटकपटक सहमतिको सरकार बनाउन आह्वान गर्दा पनि दलहरु सामेल नै हुन चाहेनन्,’ मुख्यमन्त्री कार्कीले भने, ‘उपाधारा ५ अनुसारको सरकारमा एमालेका माननीय ज्यूहरुले मलाई मुख्यमन्त्री बनाउन सहयोग गर्नुभयो। त्यो दलबाट बन्नु भएका मुख्यमन्त्रीको एजेण्डलाई लागू गर्नसक्छु भनेर मैले सहमतीय सरकार निर्माणको पहल गरेको हो । कोशी प्रदेशमा सहमतीय सरकारको विकल्प छैन।’
कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन समर्थन गर्ने तथा मुख्यमन्त्री भइसकेपछि विश्वासको मत दिने सबै प्रदेशसभा सदस्यप्रति आभार प्रकट गरे। उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई भने आफूले सरकारमा आउन आह्वान गरिनसकेको पनि उल्लेख गरे। ‘मैले राप्रपालाई सरकारमा आउनु भनेर भनेको छैन। तर, प्रदेशको समृद्धिका लागि सँगै अघि बढ्न सकिन्छ,’ कार्कीले भने, ‘राप्रपालाई पनि सहमतीय सरकारमा आउन आह्वान गर्छु। यद्यपि, परिवर्तनकारी शक्तिहरु भने एकजुट हुन आवश्यक छ।’
प्रदेशमा भौतिक विकास, स्वास्थ्य, शिक्षा र कृषिमा कसरी फड्को मार्न सकिन्छ भनेर सरकार लागि परेको उनले बताए। कार्कीले भूकम्पबाट पुगेको क्षतिप्रति दुःखसमेत व्यक्त गरेका छन्। कोसी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा शनिबार साँझ नै राहत सामग्री पठाउने तयारी गरिरहेको जानकारी उनले दिए।