पहिलो दिनै १८ गुणा बढी आवेदन
काठमाडौं : उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओमा २ लाख ८३ हजार ३ सय ४४ जनाले आवेदन दिएका छन्। मंगलबारदेखि खुलेको थप सार्वजनिक निष्कासनमा ३२ करोड ३३ लाख २८ हजार रुपैयाँबराबरको ३२ लाख ३३ हजार ३ सय ८० कित्ता सेयर माग भएको हो।
कम्पनीले प्रतिसेयर १ सय रुपैयाँ दरको १ लाख ७८ हजार ४ सय ५१ कित्ता एफपीओ निष्कासनमा ल्याएको छ। बिक्री खुला भएको आईपीओभन्दा माग भएको आईपीओ १८ गुणा बढी हो।
एफपीओमा कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ। एफपीओमा सर्वसाधारणले न्यूनतम १० देखि १ हजार कित्तासम्म माग गर्न सकिनेछ। उन्नतिको एफपीओ प्रतिआवेदक १० कित्ताका दरले १७ हजार ८ सय ४५ आवेदकले पाउनेछन्।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल हो भने एफपीओको अन्डरराइटर एनएमबी क्यापिटल हो। क्रेडिट रेटिङ गर्ने संस्था इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी बी प्लस इस्युअर रेटिङ प्रदान गरेको जसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
लघुवित्तले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवम् आर्थिक गतिविधिहरूलाई विस्तार गर्न आवश्यक पर्ने पुँजीको संकलन गर्न, लघुवित्तको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरू अनुरूप गर्नुपर्ने कार्यहरूका लागि आवश्यक पुँजी संकलन गर्न एफपीओ जारी गरेको जनाएको छ।