अभिलाषा र प्रकृति फाइनलमा
काठमाडौं : अभिलाषा विष्ट र प्रकृति श्रेष्ठ तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला एकलमा फाइनलमा प्रवेश गरेका छन्। वीर गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा अभिलाषाले माहिका राणालाई ७–५, ६–२ तथा प्रकृतिले शुभाङगीलक्ष्मी शाहलाई ४–६, ६–३, ६–० ले पराजित गरे।
पुरुष युगलमा प्रदीप खड्का र निहालजंगबहादुर थापाको जोडीले स्वर्ण जिते। खड्का र थापाको जोडीले फाइनलमा सक्षमविक्रम शाह र प्रितम परियारको जोडीलाई ४–६, ६–४, १०–१ ले हराए। भेट्रान ६५ वर्षमाथिको पुरुष एकलको फाइनलमा कमल थापाले विदुर विष्टलाई ४–१, ४–० ले पराजित गर्दै शीर्ष स्थान हात पारे।
भेट्रान ३५ वर्षमाथि पुरुष एकलमा जितेन्द्र परियारले सन्तोष खत्रीलाई ६–२, ७–६(३) तथा कमलबहादुर भण्डारीले सिमान्त गुरुङलाई ६–३, ६–२ ले पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरे। ४५ वर्षमाथि पुरुष एकलमा महेश श्रेष्ठले विमलकुमार गुरुङलाई ६–२, ६–२ को सोझो सेटमा पन्छ्याउँदै सेमिफाइनलमा पुगे। ४५ वर्षमाथि पुरुष डबल्समा रोहित सुनुवार र यज्ञबहादुर भण्डारीको जोडीले डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीलाई ६–४, ६–४ को सोझो सेटमा निराश पार्दै फाइनल यात्रा तय गरे।
प्रतियोगिताअन्तर्गत जुनियरमा सरा पन्तले बुधबार दोहोरो स्वर्ण जितिन्। सराले यू–९ र यू–१० छात्रा एकलमा उनले स्वर्ण जितेकी हुन्। यू–९ फाइनलमा सराले थिअ श्रेष्ठलाई ४–०, ४–१ ले पराजित गरिन्। अर्को फाइनलमा सराले अनुश्री धोजुलाई ६–२, ७–६(१३) ले निरास पारिन्। यू–१० छात्र एकल फाइनलमा विश्वविशेष डल्लाकोटीले सुजन कुइँकेललाई ६–३, ६–३ ले हराउँदै पहिलो स्थान हात पारे। यू–१२ छात्रा एकलमा शिभाली गुरुङले साल्भी महर्जनलाई ६–१, ६–० को सोझो सेटमा पाखा लगाउँदै शीर्ष स्थान कब्जा गरिन्। यू–१४ छात्र फाइनलमा बृजेश अर्यालले बोरिस अधिकारीलाई ६–२, ६–३ ले पन्छ्याउदै शीर्ष स्थानमा रहे।