अन्तर्राष्ट्रिय कोचिङ सेमिनारमा देवकी
काठमाडौं : जुडो खेलाडी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय कोचिङ सेमिनारमा सहभागी भइ स्वदेश फर्किएकी छन्। जापानको हरतसुगासी कानागावास्थित टोकाइ विश्वविद्यालयमा एक महिनाको सेमिनारमा सहभागी भई देवकी स्वदेश फर्किएकी हुन्। सेमिनार एनपीओ जुडोसले आयोजना गरेको हो।
सेमिनारका केही कक्ष जापान कोदोकानमा पनि भएको थियो। जुडोको कोचिङलगायत विविध शिक्षा हासिल गर्ने क्रममा देवकीले जापानको विभिन्न डोजो, जुनियर हाई स्कुल, सिनियर हाई स्कुल, कलेज, विश्वविद्यालयहरूमा प्रशिक्षण गर्ने अवसर पाएकी थिइन्।
देवकीलाई एनपीओ जुडोसका मुख्य प्रशिक्षक मिसुमोटोलगायतले प्रशिक्षण दिएका थिए। गैर नाफामुलक संस्था एनपीओ जुडोसका अध्यक्ष ओलम्पिकका स्वर्ण विजेता कोसेईं इनोइ हुन्। यस्तो सेमिनारमा नेपालबाट जुडोमा सहभागी हुने देवकी पहिलो खेलाडी हुन्।
देवकी बन्दी सहायता नियोग (पाम) मा सात वर्षको उमेरदेखि हुर्केकी हुन्। त्यहींबाट उनले सन् २००९ देखि जुडो खेल्न थालेकी हुन्। उनी पामकी सहायक प्रशिक्षक छिन्। घरेलु प्रतियोगितामा देवकी एक पटक मात्र मनिता श्रेष्ठ प्रधानसँग फाइनलमा पराजित भएकी छन्। मनिता पनि पामकै उत्पादन हुन्।
देवकीले हालै चीनको हाङचाओमा भएको १९औं एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरेकी थिइन्। देवकीका दाइ इन्द्र र निशा पनि आ–आफ्नो तौलसमूहका जुडोकै राष्ट्रिय च्याम्पियन हुन्। देवकीले सेमिनारबाट महत्वपूर्ण ज्ञान हासिल गरेको बताउँदै आफूले सिकेको सीप अरुलाई पनि सिकाउने बताइन्।