एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत
हेटौंडा : अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभामा अध्यक्ष पंकज विक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ।
हेटौंडामा बिहीबार सम्पन्न विशेष साधारणसभामा अध्यक्ष नेम्वाङविरुद्ध भएको मतदानमा नेम्वाङले ५२ मत प्राप्त गरेसँगै उनीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फेल भएको हो।
गत भदौ २५ गते एन्फाका ४९ सदस्यले वर्तमान अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास राखेका थिए। सोही अविश्वास प्रस्तावको छिनोफानो गर्न आज भएको विशेष साधारणसभामा कूल ८७ जना मतदातामध्ये प्रस्तावको पक्षमा शून्य मत र विपक्षतर्फ अर्थात् अध्यक्ष नहटाउने पक्षमा ५२ मत अध्यक्ष नेम्वाङले पाएका हुन्।
मतदान प्रकियामा १ मत भने बदर भएको छ। मतदान प्रक्रियामा ५३ जनामात्र सहभागी भए पनि प्रस्तावक पक्षबाट ३४ जनाले मतदान बहिष्कार गरेका थिए।