न्यायिक समिति मेलमिलाप गराउने अदालत हो : न्यायाधीश रेग्मी
जोमसोम : सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले स्थानीय तहको विवाद निरुपण तथा मेलमिलाप गराउने सयन्त्रको रूपमा न्यायिक समिति स्थानीय तहको नजिकको अदालत भएको बताएका छन्।
बिहीबार मुस्ताङको जोमसोममा आयोजित ‘न्याय पहुँच अभिवृद्धिका लागि स्थानीय तहका न्यायिक समिति र अन्य सरोकारवाला निकायको भूमिका’विषयक अन्तर्क्रिया कार्यक्रममा सर्वोच्चका न्यायाधीश रेग्मीले स्थानीय तहमा हुने सबै प्रकारका विवाद समाधान गर्न नेपालको संविधानले न्यायिक समितिलाई मेलमिलाप गराएर विवाद साम्य पार्नसक्ने अधिकारको व्यवस्था सुनिश्चित गरेको बताए।
सर्वोच्च अदालतअन्तर्गत न्यायमा पहुँच आयोगको आयोजनामा मुस्ताङका ५ वटै स्थानीय तहका न्यायिक समिति, जिल्ला अदालत, प्रशासन, प्रहरी र अन्य सरोकारवालाई माननीय न्यायाधीश रेग्मीले न्याय पहुँच अभिवृद्धिसम्बन्धी प्रशिक्षण दिए। न्याय पहुँच अभिृवृद्धि गरी समाजलाई सम्य र शान्तिमय बनाउन मुस्ताङमा कार्यक्रम आयोजना गरिएको न्यायाधीश रेग्मीले बताए।