कोशी प्रदेश : विगतभन्दा यसवर्षको दसैंमा कम दुर्घटना
विराटनगर : कोशी प्रदेशमा विगतको तुलनामा यसवर्षको दसैंमा कम दुर्घटना भएको पाइएको छ। विगतभन्दा यसवर्षको दसैंमा सवारी दुर्घटनामा कमी आउँदा त्यसबाट मानवीय तथा भौतिक क्षति पनि कम भएको छ।
१४ जिल्ला रहेको प्रदेशमा दसैंको अवधिभर एक सय ६१ वटा सवारी दुर्घटना भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता डीएसपी मोहन दाहालका अनुसार तीव्र गतिका कारण ६४, मापसे (मादक पदार्थ सेवन)का कारण आठ, बिना लाइसेन्स (सवारी चालक अनुमति पत्र) सवारी कुदाउँदा १६, बाटो काट्दा ११ र सवारीसाधनको असुरक्षित प्रयोगका कारण सातवटा दुर्घटना भएका छन्। दुर्घटनामा १८ जनाको मृत्यु भएको उनले बताए।
दुर्घटनामा परी झापामा सबैभन्दा धेरै सात जनाको मृत्यु भएको छ। मोरङमा पाँच, सुनसरीमा चार तथा उदयपुर र ओखलढुंगामा एक/एक जनाको मृत्यु भएको उनले बताए। दुर्घटनामा ४० जना गम्भीर र दुई सय ४५ जना सामान्य घाइते भएको जानकारी दाहालले दिए।
उनका अनुसार दसैं अवधिभर ट्राफिक नियम उल्लंघन गर्ने छ हजार नौ सय ७३ वटा सवारीसाधन कारबाहीमा परेका छन्। सवारीसाधनलाई ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही गर्दा ४७ लाख ३१ हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको छ।
आर्थिक वर्ष २०७९/०८० को दसैंमा एक सय ८० वटा सवारी दुर्घटना भएका थिए। दुर्घटनामा परेर २२ जनाको मृत्यु हुनुका साथै ४४ जना गम्भीर र दुई सय ३३ जना सामान्य घाइते भएका थिए। उक्त अवधिमा सात हजार तीन सय ११ सवारीसाधनलाई कारबाही गर्दा ४७ लाख ३५ हजार रूपैयाँ राजस्व उठेको थियो।
त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ को दसैंमा एक सय ७१ वटा सवारी दुर्घटना भएका थिए। दुर्घटनामा १९ जनाको मृत्यु हुनुका साथै ५५ जना गम्भीर र दुई सय ७३ जना सामान्य घाइते भएका थिए। ट्राफिक नियम उल्लंघनको कसुरमा आठ हजार सात सय ९१ वटा सवारीसाधनलाई कारबाही गर्दा ५९ लाख ६५ हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको थियो।
कोशीका ट्राफिक प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार चाडपर्वलाई लक्षित गरी ट्राफिक सक्रियता बढाएर सार्वजनिक सवारीसाधनमाथि निगरानी गरिएका कारण यसवर्षको दसैंमा सवारी दुर्घटनामा कमी आएको हो। ‘चाडपर्व मनाउन सार्वजनिक सवारीको प्रयोग गरेर आवतजावत गर्ने यात्रुको सुविधालाई मध्यनजर गर्दै विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना र सञ्चालन गरियो,’ उनले भने, ‘सडकमा ट्राफिकको उपस्थिति बाक्लो बनाइएको थियो।’
यात्रुलाई आइपर्ने सम्भावित समस्यालाई तत्काल सम्बोधन गर्ने उद्देश्यका साथ प्रदेशभर ५९ वटा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको पौडेलले बताए।
यात्रुसँग बढी भाडा लिने, सामानको सुरक्षा नगर्ने, क्षमताभन्दा बढी र कोचाकोच यात्रु राख्ने, यात्रुलाई सम्मानजनक व्यवहार नगर्ने, गन्तव्यसम्म नपुर्याउने, बिचल्ली बनाउने, अस्वस्थ्यकर खाना खान बाध्य पार्ने, मापदण्डविपरीत सवारी सञ्चालन गर्ने र यात्रुलाई गैरकानुनी व्यवहार गर्ने सवारीसाधनलाई कारबाही गरिएको उनले बताए।
पौडेलका अनुसार तीव्र गतिमा सवारीसाधन चलाउने ४७ र मापसे गरेर चलाउने एक सय ४८ तथा सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त नगरिकन चलाउने दुई सय ८७ जना चालकलाई कारबाही गरिएको छ। दसैंको अवधिमा सवारी चालक, पैदल यात्रीसमेतका सडक प्रयोगकर्तालाई लक्षित गरेर ट्राफिक प्रहरीले विभिन्न स्थानमा छ सय ६६ वटा जनचेतनामूलक कार्यक्रम गरेको उनको भनाइ छ।