मुस्ताङका ५ वटै पालिकाकाबासीले सीमापार पास पाउने सहमति
जोमसोम : मुस्ताङका ५ वटै पालिकाका नागरिकलाई (नेचुङ-लिजी) सीमापारी कोरलानाका जान पाउने भएका छन्। लोघेकर दामोदरकुण्ड गाउँपालिकाको विशेष जोडबलमा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकलाई मात्र दिने भनी तोकिएको सीमापार प्रस्थान अनुमतिपत्र वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका नागरिकलाई पनि पाउने सहमति भएको हो।
चीनले नेपाल पक्षले मुस्ताङका सबै पालिकाका नागरिकले सीमापार प्रस्थान अनुमतिपत्र लिएर आएमा चीनले प्रेवशमा रोकटोक नगर्ने सहमति भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए। लगातार ४ वर्षपछि आज सोमबार औपचारिकरूपमा विधिवत उद्घाटन भएको नेचुङ-लिजी कोरलानाकाको औपचारिक कार्यक्रममा उक्त सहमति भएको अध्यक्ष बिष्टले जानकारी दिए। योसँगै मुस्ताङका ५ वटै पालिकाका नागरिकले सीमापार प्रस्थान अनुमतिपत्र पाउने अध्यक्ष बिष्टको भनाइ छ। उक्त सहमति चिनियाँ पक्ष र नेपाली पक्षबीच भद्र सहमति भएको उनले बताए।
सोमबारदेखि सञ्चालनमा आएको नेचुङ-लिजी कोरला नाका अब दैनिक विहान ८ बजेदेखि दिउँसोसम्म खुल्ला रहने सहमति गरिएको छ। जसअन्तर्गत बिहान ८ बजे देखि ३ बजेसम्म सञ्चालन हुने नाका खुला अवधिको बिहान ११ बजेदेखि १२ बजेसम्म खाना खाने ब्रेक समय रहने सहमति भएको गाउँपालिकाका अध्यक्ष बिष्टले बताए।