उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्ने

काठमाडौं : एकदिवसीय क्रिकेट विश्वकप उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्ने भएका छन्। भारतमा जारी विश्वकपको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो। बुधबार सम्पन्न खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले हराएर १२ वर्षपछि फाइनल पुगेको थियो। फाइनल नोभेम्बर १९ तारिखमा अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ।
बिहीबार सम्पन्न खेलमा सन् २०१५ को विश्वविजेता अस्ट्रेलियालाई दक्षिण अफ्रिकाले दिएको २ सय १३ रनको लक्ष्य भेट्न ४७.२ ओभरसम्म संघर्ष गर्नुपर्यो। ७ विकेट गुमाएर लक्ष्य भेट्नुअघि अस्ट्रेलियाका लागि ट्रेभिस हेडले सर्वाधिक ६२ रनको योगदान दिए। उनले ४८ बल खेल्दै ९ चौका र २ छकका प्रहार गरे। यस्तै डेभिड वार्नरले १ चौका र ६ छक्काको मद्दतले २९, स्टिभ स्मिथले ३० रन बनाए।
लो स्कोरिङ खेलमा अस्ट्रेलियाको फिनिस सुस्त भएको थियो। अन्तिममा मिचेल स्टार्क र कप्तान प्याट कमिन्स क्रमशः १६ र १४ रनमा अभिजित रहँदै जित दिलाए। दक्षिण अफ्रिकाका लागि गेराल्ड कोइट्जी र टाब्रेइज सम्सीले २–२ तथा कगिसो रबाडा, एडेन मारक्रम र केशब महाराजाले १–१ विकेट लिए।
यसअघि डेभिड मिलरको शतक प्रेरितदक्षिण अफ्रिकाले २१२ रन जोडेको थियो। टिम २ बल बाँकी छँदै अलआउट हुनुअघि मिलरले १ सय १६ बलमा १ सय १ रन बनाए। उनले ८ चौका र ५ छक्का प्रहार गरे। यस्तै हेनरिक क्लासेनले ४ चौका र ६ छक्काको मद्दतमा ४७ रन बनाए। खराब सुरुवातपछि अफ्रिकी टोलीलाई मिलर र क्लासेनले सम्हालेका थिए।
कलकत्तास्थित इडेन गार्डेन्समा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा अस्ट्रेलियाका मिचेल स्टार्क र कप्तान पाट कमिन्सले समान ३–३ विकेट र जोस हेजलउड र ट्राभिस हेडले २–२ विकेट लिए।
बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा भारतले दिएको ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड ३ सय २७ रनमा समेटिएको थियो। मुम्बईको बांखडे क्रिकेट रंगशालामा भएको खेलमा मोहमद शमीले कसिलो बलिङ गर्दा किवी टोली ७ बल अगावै अलआउट भयो। शमीले ५७ रन खर्चेर ७ विकेट लिए।
न्युजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक १ सय ३४ रन बनाए। कप्तान केन विलियम्सनले ६९ रन र ग्लेन फिलिप्सले ४१ रन बनाएका थिए।
टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरको खेलमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले १ सय १७ रनको योगदान दिँदा श्रेयस अयरले १ सय ५ रन बनाए। कप्तान रोहित शर्माले ४७ र सूर्यकुमार यादवले १ रन बनाएर पेभेलियन फर्किँदा शुभम गिल ८० रन तथा केएल राहुल ३९ रनमा अविजित थिए।
प्रतिक्रिया दिनुहोस !
