हिन्दू राष्ट्रका लागि प्रदेश सांसाद पराजुलीले गरे छठ पूजाको अवसरमा प्रणाम यात्रा
विराटनगर : कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले हिन्दू राष्ट्र प्राप्तिका लागि भन्दै छठ पूजाको अवसरमा प्रणाम यात्रा गरेका छन्।
पराजुलीले धर्मसहितको सनातन हिन्दु राष्ट्रको माग राख्दै दण्ड प्रणाम यात्रा सिंघिया घाटसम्म गरेका हुन्। घरदेखि घाटसम्म शरीरले नापेर यात्रा गर्नुलाई छठमा प्रणाम यात्रा भनिन्छ। कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले हिन्दू राष्ट्र नभई देशको विकास र सुख शान्ति नहुने भन्दै यो १९औं दण्ड प्रणाम यात्रा गरेको बताए।
उनले मुलुकको शान्ति विकास र समृद्धिका लागि कामना गरेर दण्ड प्रणाम यात्रा गरेको समेत बताए। विराटनगर महानगरपालिका-३ ठूलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्ड प्रणाम गर्दै यात्रा गर्ने गरेको उनले बताए। दण्ड प्रणाम यात्राका लागि शनिबारदेखि व्रत बसेको उनले बताए।