गाजामा मानवीय सङ्कट रोक्न विश्वले ‘तुरुन्त कदम चाल्नुपर्छ’: चिनियाँ विदेशमन्त्री

बेइजिङ : चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार अरब तथा मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले तत्काल कदम चाल्नुपर्ने बताएका छन्।
‘गाजाको स्थितिलाई चाँडै शान्त पार्न र मध्यपूर्वमा चाँडोभन्दा चाँडो शान्ति पुनःस्थापना गर्न मिलेर काम गरौँ’, बेइजिङमा प्यालेस्टिनी प्राधिकरण, इन्डोनेसिया, इजिप्ट, साउदी अरब र जोर्डनका विदेशमन्त्रीहरूलाई उनले भने, ‘गाजामा मानवीय विपत्ति देखापरेको छ, त्यहाँको अवस्थाले विश्वका सबै मुलुकलाई असर गर्छ, यसले मानवीय भावनाको सही र गलत तथा मानवताको तल्लो अवस्थामाथि प्रश्न उठाउँछ, विश्व समुदायले यो त्रासदीलाई बढ्नबाट रोक्न प्रभावकारी उपायमार्फत तत्काल कदम चल्नुपर्छ।’
हमासले अक्टोबर ७ मा हमला गरेपछि इजराइलले गाजाको शासक हमासलाई नष्ट गर्ने वाचा गरेको छ। इजराइलमाथि हमासले गरेको अहिलेसम्मको सबैभन्दा भयानक उक्त हमलामा एक हजार दुई सय सर्वसाधारण मारिएका थिए। त्यस्तै हमासले दुई सय ४० जनालाई बन्धक बनाएको छ।
‘अरब र मुस्लिम मुलुकहरूको चीन असल मित्र र भाइ हो’, विदेशमन्त्री वाङले भने, ‘हामीले सधैँ अरब र मुस्लिम मुलुकहरूको वैध अधिकार र हितको दृढताका साथ रक्षा गरेका छौँ, साथै प्यालेस्टिनी जनताको वैध राष्ट्रिय अधिकार र हित पुनःस्थापित गर्ने प्रयासलाई सधैँ दृढताका साथ समर्थन गरेका छौँ।’ - रासस/एएफपी
प्रतिक्रिया दिनुहोस !
