गुल्मीका दुई स्थानीय तहमा मंसिर ७ गते सार्वजनिक बिदा

गुल्मी : गुल्मीका दुई स्थानीय तहले मंसिर ७ गते सार्वजनिक बिदा दिएका छन्। मंगलबार सूचना जारी गर्दै जिल्लाको रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन्।
मंसिर ७ गते अर्थात् हरिबोधिनी एकादशीका दिन धार्मिक, ऐतिहासिक स्थल रेसुंगा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले कार्यपालिका बैठकबाट भएको निर्णयबमोजिम सार्वजनिक विदा दिइएको रेसुंगा नगरपालिकाले निकालेको सूचनामा उल्लेख गरेको छ।
त्यस्तै गुल्मी दरबार गाउँपालिकाले मंसिर ५ गते एक सूचना जारी गर्दै हरिबोधिनी एकादशीका दिन पालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिइएको छ।
हरिबोधिनी एकादशी पर्वका अवसरमा गुल्मीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुंगामा पूजा गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ। एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी तुलसीको व्रत गरी विशेष पूजा गर्दछन्।
प्रतिक्रिया दिनुहोस !
