मोरङमा मोटरसाइकल ग्यारेज सञ्चालक घाँटी काटिएको अवस्थामा भेटिए
विराटनगर : मोरङको धनपालथान गाउँपालिका-४ कर्सिया बजारमा मोटरसाइकल ग्यारेज सञ्चालन गरेर बसेका एक पुरुष घाँटी काटिएको अवस्थामा फेला परेका छन्।
अर्तु वर्कसप नामक ग्यारेज सञ्चालन गरेर बसेका कटहरी गाउँपालिका-३ का ५० वर्षीय अर्तुलाल राजवंशीलाई स्थानीयले घाँटीको अगाडिको भाग काटिएर गम्भीर घाइते भएको अवस्थामा फेला पारेका हुन्। ग्यारेजभित्रै रक्ताम्य अवस्थामा राजवंशी भेटिएपछि बिहीबार बिहान १:३० बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले गम्भीर अवस्थाका घाइतेलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको जानकारी दिए। उनी बोल्न सक्ने अवस्थामा छैनन्। दाहालका अनुसार यसअघिदेखि नै राजवंशी ग्यारेजमा एक्लै बस्ने गरेको खुलेको छ।
उनी सुत्ने खाटनजिकैको टेबलबाट रगत लागेको हँसियाजस्तो देखिने धारिलो हतियार बरामद भएको डीएसपी दाहालले बताए। उनका अनुसार राजवंशीले त्यही धारिलो हतियारले आफ्नो घाँटी आफैंले काटेका हुन् कि अरुले नै घटना गराएभन्ने बारेमा खुल्न बाँकी छ।
उपचारपश्चात उनी बोल्न सक्ने भएपछि घटनाको वास्तविकता पत्ता लाग्ने दाहालको भनाइ छ। इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।