प्यूठान–रोल्पा सडक १६ घण्टा बन्द हुने
बुटवल : पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाङको भालुवाङबाट प्यूठान र रोल्पा जाने सडक दैनिक १६ घण्टा बन्द हुने भएको छ। भालुवाङदेखि माण्डवी गाउँपालिकाको केन्द्र चकचके खण्डका विभिन्न स्थानहरुमा मर्मत गर्नुपर्ने भएकाले सडक बन्द हुने भएको हो।
सडक डिभिजन प्यूठानले सार्वजनिक जारी सूचना जारी गर्दै समयको ख्याल गरेर यात्रा गर्न सर्वसाधरणलाई जानकारी दिएको छ। मंगलवारदेखि दिउँसो १ बजेदेखि बेलुका ६ बजे र राती ९ बजेदेखि अर्को दिन ८ बजेसम्म सडक ठप्प हुने सडक डिभिजन प्यूठानका सूचना अधिकारी इन्जिनियर किसनप्रसाद गैरेले जानकारी दिए।
साँघुरा सडक र घुम्तीहरुका कारण दुर्घटना बढ्दै गएकाले मोडहरुलाई काट्ने र सडक चौडाह बनाउने योजना अनुसार कार्यालयले ठेक्का मार्फत काम गर्दै छ। करिव डेढ महिनाजति सडक अवरुद्ध गरेर काम गर्न थालिएको गैरेले बताए।
कार्यालयले बिहान ८ देखि १२ बजे र ६ देखि ९ बजेसम्म मात्र यात्रा गर्न नागरिकहरुलाई आग्रह गरेको छ। आँशु हरियाली जेभी प्यूठानले सडक ममर्तको काम गर्ने जिम्मेवारी पाएको छ।
रोल्पा र प्यूठानका यात्रुहरुको बुटवल, काठमाडौं, दाङ, नेपालगञ्ज लगायत शहरमा व्यापार व्यवसायदेखि स्वास्थ्य उपचार गर्न जाने यो मुख्य सडक हो। प्यूठानका पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्धारी जाने सडक पनि यही हो।