वेयरहाउजिङको आईपीओमा ११ लाख ४३ हजारको रित्तोहात
काठमाडौं : नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओमा १२ लाख ५७ हजार ७ सय ५६ जना आवेदकले आवेदन दिएका छन्। सीडीएससीका अनुसार निर्धारित अवधिमा सेयर पाउनेभन्दा ११ लाख ४३ हजार बढीले आवेदन दिएका हुन्।
बुधबार साँझसम्म १ अर्ब ३६ करोड ४३ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ४३ हजार ३ सय ९० कित्ता सेयर माग भएको हो। जबकि १०–१० कित्ताका दरले सो सेयर १ लाख १४ हजार १ सय २५ जनालाई पर्नेछ। बाँकी ११ लाख ४३ हजारको हात खाली हुनेछ। आवेदन परेको सेयर संख्या कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको सेयरको ११.९५ गुणा बढी हो। नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओमा आइतबारदेखि आवेदन खुलेको थियो। कम्पनीले सर्वसाधारणलाई छुट्ट्याएको १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ३७ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गरिसकेको छ। कम्पनीले २७ हजार ५ सय कित्ता सेयर कर्मचारीका लागि तथा ६८ हजार ७ सय ५० कित्ता सेयर म्युचुअल फन्डका लागि छुट्ट्याएर बाँकी रहेको ११ लाख ४१ हजार २ सय ५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए।
नेपाल वेयर हाउजिङको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल हो। कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङले ‘आईआरएन डबल बी माइनस (आइएस)’ रेटिङ प्रदान गरेको छ। यो रेटिङअनुसार कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको बुझाउँछ।
नेपाल वेयर हाउजिङ कम्पनीले कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिकटन क्षमताका भण्डारण गृह सञ्चालन गर्दै आएको छ। कम्पनीले किसान, व्यापारी, मिलर र व्यापारीको अन्न भण्डारण आवश्यकता पूरा गर्दै आएको छ। कम्पनीको विवरणपत्रअनुसार असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८.८७ रुपैयाँ ऋणात्मक छ।