बुटवल : बुटवलको आम्दा अस्पतालमा सुत्केरीपछि मृत्यु भएकी सत्यवती गाउँपालिका- २ ठूलोलुम्पेक गुल्मीकी ३५ वर्षीया भवानी रास्कोटीको शव आफन्तले चार दिनपछि बुझेका छन्।
आन्दोलनरत पीडित पक्ष, अस्पताल व्यवस्थापन समिति र सरोकारवाला निकायको सहमतिपछि शुक्रबार शव आफन्तले जिम्मा लिएका हुन्।
मृतक रास्कोटीको नवजात छोरा र ६ वर्षीय छोरीका नाममा जम्मा गर्नेगरी साढे सात लाख रुपैयाँ राहत रकम र प्रहरीले पक्राउ गरेका सात जना रास्कोटीका आफन्तलाई रिहाइ गर्ने सहमति भएपछि विवाद टुंगिएको हो।
पीडितलाई राहत दिने कार्यक्रममा बुटवल उपमहानगरपालिकाले ५ लाख, गुल्मीको सत्यवती गाउँपालिकाले २ लाख र गुल्मीकै प्रदेशसभा सदस्य चिन्तामणी रेग्मीले ५० हजार रुपैयाँ दिने सहमति भएको मृतकका भिनाजु याम तरामुले जानकारी दिए।
आम्दा अस्पतालको व्यवस्थापन समितिको अध्यक्षका रूपमा बुटवल उपमहानगरपालिकाका मेयर हुने व्यवस्था छ। ‘चार दिनको छलफलबाट भएको सहमतिपछि शव बुझेर गाउँ फर्कदै छौँ’,तरामुले भने,‘प्रहरीबाट छुटेका युवाहरूसहित हामी गाउँ जाँदै छौं।’
उनले दुवै पक्षबीच हार र जितको प्रतिसोध नसाँधिएको प्रतिक्रिया दिए। मृतकका आफन्तहरूले पहिलो दिनको छलफलका क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र बस्यालमाथी कुटपिट गरेर घाइते बनाएका छन्। कुटपिट गर्ने सात जना युवाहरूलाई बिना शर्त रिहाइको मृतकका आफन्तले माग राखेका थिए।
कार्यालयले चाहेको बेला उपस्थित हुने गरी आरोपितहरूलाई थप पीडा र सजाय नदिने शर्तमा हाजिरी जमानीमा पक्राउ परेका युवाहरूलाई छाडिएको रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए। ‘दुवै पक्षबीच घटनालाई थप अगाडि नबढाउने सहमति भए पनि विषय कानुनी रूपमै टुंगिन्छ’,अर्यालले भने,‘तर आरोपितहरूलाई थप पीडा दिने खालका गतिविधिहरू हुँदैनन्।’
मृतक रास्कोटीको सत्यवती-२ ज्यामी गुलम्बी घाटमा अन्तिम दाहासंस्कार गर्ने कार्यक्रम रहेको आफन्तले जनाएका छन्। आफन्तको कुटपिटपछि घाइते भएका अस्पतालका मेसु बस्यालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमै उपचार भइरहेको छ।