पर्वतको पूर्वाधार कार्यालय तीन वर्षदेखि प्राविधिकविहीन

पर्वतको पूर्वाधार कार्यालय तीन वर्षदेखि प्राविधिकविहीन

पर्वत : जिल्लाको भौतिक विकास तथा पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्ने पूर्वाधार विकास कार्यालय तीन वर्षदेखि प्राविधिकविहीन बनेको छ। 

दरबन्दीअनुसारका प्राविधिक नहुँदा सडक, मोटरेबल तथा झोलुंगे पुल, ग्रामीण सडक स्तरोन्नतिका साथै खेलमैदान निर्माणलगायत एक सय ७२ योजना प्रभावित बनेका छन्।

कार्यालय विगत तीन वर्षदेखि प्राविधिकविहीन छ। पाँचौँ, छैटौँ, सातौँ र आठौँ तहका प्राविधिक गरी १० जनाको दरबन्दी रहेकामा पाँचौँ र छैटौँ सहायक प्राविधिक दुईजना मात्र कार्यरत रहेका कार्यालय प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए। उनका अनुसार सातौँ र आठौँमा तीन प्राविधिकको दरबन्दी रहेकामा अहिले एकजना पनि कार्यरत छैनन्।

सातौँ र आठौँका तीन पद कर्मचारीविहीन रहेका अधिकारीले जानकारी दिए। प्राविधिक जनशक्तिको अभाव भएकाले चालू आर्थिक वर्षका एक सय ७२ योजना प्रभावित बनेका उनको भनाइ थियो।

‘जिल्लाको ग्राभेल तथा माटेसडक, झोलुंगे तथा मोटरेबल पुललगायत निर्माणका गतिविधिको अगुवाइ गर्ने कार्यालयमा इन्जिनियरको दरबन्दी तीनजनाको हो। अहिले एकजना पनि छैनन्,’ अधिकारीले भने, ‘सबइन्जिनियर अधिकृतस्तर पाँचौँ र छैटौँको सात दरबन्दी छन्। अहिले कार्यरत संख्या जम्मा दुई छ।’ दरबन्दीअनुसारको कर्मचारी नभएपछि कामको अत्यन्तै चाप रहेको उनको भनाइ थियो।

सीमित जनशक्तिका कारण सबै योजनाको विस्तृत लागत तयार, योजनाको डिपिआर निरीक्षण, योजनाको मूल्यांकनलगायत काममा अत्यधिक भार परेको बताउँदै कतिपय योजनामा प्राविधिककै कारण ढिलाइ हुने गरेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए। 

उनका अनुसार योजनाका काम प्रभावित हुन नदिन दैनिक ज्यालादारीमा प्रतिव्यक्ति एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म दिने गरी प्राविधिक सुपरभाइजरको रूपमा तीनजना सबइन्जिनियरलाई काममा लगाइएको छ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेशले करारमा कर्मचारी राख्न नपाइने व्यवस्था गरेपछि ज्यालादारीमा राख्नुपरेको अधिकारीको भनाइ थियो। कार्यालयमा इन्जिनियर, लेखा, प्रशासन, हलुका सवारीचालकलगायत सबै गरेर जम्मा १६ दरबन्दी भए पनि अहिले कार्यालय सहयोगीसहित आठजना मात्रै कार्यरत रहेका उनले जानकारी दिए। उक्त कार्यालयमार्फत अहिले पर्वतमा नौ बहुवर्षीय सडक योजना सञ्चालनमा छन् भने चार मोटरेबल पुल बन्दै छन्।
 
चार मोटरेबल पुलमध्ये लिदी खोलाअन्तर्गत राम्जा र छत्तीसेघाट सडकअन्तर्गत पैयुँ गरी दुई पुल निर्माणाधीन छन्। अन्य दुई सडक तथा पुल ठेक्का प्रक्रियामा गइसकेको कार्यालयले जनाएको छ। पूर्वाधार कार्यालयअन्तर्गत यस वर्ष साना र ठूला गरी एक सय ७२ भौतिक विकास निर्माणका योजना सञ्चालनमा छन्। यस वर्ष पर्वतको भौतिक पूर्वाधार विकासमा एक अर्ब पाँच करोड रुपैयाँ विनियोजन गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए।

प्रदेश सरकारअन्तर्गत कार्यालय स्थापना भएपछि पर्वतमा अहिलेसम्म ८१.३७ किलोमिटर पक्की सडक निर्माण भएको छ भने ३४.७ किलोमिटर सडक ग्राभेल गरिएको कार्यालयले जनाएको छ। दरबन्दीअनुसारको जनशक्ति अभावमा तोकिएअनुसारको काम गर्न समस्या भएको अधिकारीको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.