जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं : नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशन आगामी जेठमा काठमाडौंमा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो।
पार्टी आन्तरिक विवाद उत्पन्न भएपछि यसअघि महाधिवेन मिति तय हुन सकेको थिए। सोमबार बसेको बैठक पनि यही कारण अनिर्णित बनेको थियो।
त्यस्तै महाधिवेशन तयारीका लागि एकीकृत समाजवादीले राष्ट्रिय सम्मेलनसहित विभिन्न बैठकसमेत बोलाएको छ। प्रवक्ता खतिवडाका अनुसार मंसिर २८ र २९ गते सचिवालय बैठक बस्नेछ। त्यसपछि पुस ९ गते स्थायी कमिटी बैठक, पुस १० गते पोलिटव्युरो बैठक, पुस ११ र १२ गते केन्द्रीय कमिटी बैठक बोलाइएको प्रवक्ता खतिवडाले बताए।
त्यस्तै नेकपा एकीकृत समाजवादीले माघमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ। प्रवक्ता खतिवडाका अनुसार माघ १४ र १५ गते राष्ट्रिय सम्मेलनमा आयोजना हुनेछ।
राष्ट्रिय सम्मेलनमा विधानको व्यवस्थाबारे छलफल हुने भएकाले त्यसका लागि कार्यदलसमेत बनाइएको प्रवक्ता खतिवडाले बताए। पार्टी उपाध्यक्ष वेदुराम भुसालको संयोजकत्वमा गठन गरिएको कार्यदलमा महासचिव घनश्याम भुसार र उपमहासचिव प्रकाश ज्वाला रहनेछन्।