७३ वर्षको उमेरमा पाइन् 'भुटीदिदी'ले नागरिकता

७३ वर्षको उमेरमा पाइन् 'भुटीदिदी'ले नागरिकता
सुन्नुहोस्

काँडा, साइपाल (बझाङ) : स्थानीय काँडा गाउँका दर्जन बढी ज्येष्ठ नागरिक छन्। उनीहरूमध्ये एक जना अविवाहित महिला हुन् भुटी गुरुङ उर्फ भुटी दिदी। हुम्लामा जन्मिएर बुबाआमासँगै साइपाल पुगेकी भुटीदिदीका सात दशक काँडामा लेकबेँसी गर्दै बिते। 

विसं २००८ सालमा जन्मिएकी भुटीदिदीका बाल्यकालबाटै भेडाच्याङ्ग्रा साथी बने। त्यसपछिका साथी आफ्नै भाइबहिनी, गाउँले भाइबहिनी र उहाँहरूका सन्तान भए। यसैमा बित्यो उनको ७३ वर्ष । घरको काम, भेडाच्याङ्ग्रा, गाइवस्तुको गोठ नै उनका लागि संसार बन्यो। यतिसम्म कि उनले विहे गर्नेसमेत समय पाइनन्।

आजीवन एकल महिला रहेकी भुटीदिदीलाई गत साता जिल्ला प्रशासनले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्‍यो। जीवनको उत्तरार्द्धमा प्रवेश गरेसँगै मानसिक रोगले थलिएकी भुटीदिदीको भतिज टेक गुरूङको घरमा बस्छिन्।

गाउँमा तीन पुस्ताले नै उनलाई भुटदिदी भनेर सम्बोधन गर्छन्। उनलाई चिन्नेले पनि भुटीदिदीकै नामले चिन्छन्। धामी, बोहरा, गुरूङ, रोकायालगायत विभिन्न थरका बासिन्दाको बसोबास भएको हुँदा पनि उनी सबैकी भुटी दिदी भएकी छन्।

भुटीदिदीले स्वस्थ हुँदा सबैलाई माया गर्ने, सक्दो आफन्तलाई काममा सघाउने र ससाना नानीहरूलाई ‘भदा-भदै’ भन्दै खेलाउने हुँदा गाउँमा उनी सबैकी प्यारी बनेकी गाउँपालिका अध्यक्ष मानविर बोहराले बताए। 

भुटीदिदीले काखमा बोकेका भाइ बहिनीहरू अहिले भने बाजेसम्म भइसकेका छन्। तर, भुटीदिदी भने आफन्तकै नाति नातिनालाई खेलाइरहेका छन्। अहिले उनको दैनिकी घरको आँगन र आफ्नो टोलमै बित्ने गरेको छ। उमेरमा घरायसी काममात्रै होइन, कसैको विवाह, व्रतबन्ध हुँदा कामका लागि अग्रस्थानमा हुने भुटीदिदी केही वर्षयता भने घरमै थन्किएका छन्।

साइपाल गाउँपालिका-३ काँडाका ज्ञानबहादुर बोहरा भन्छन्, 'भुटीदिदीलाई गाउँमा सबैले माया गर्छन्। घरायसी काम, भेडाच्याङ्ग्राको हेरचाहमै जीवन बिताउनुभएकी दिदीलाई विहे गर्ने, घरबार जोड्ने कहिल्यै सोच आएन र यत्तिकै बस्नुभयो।' बुढेसकालमा भने विहे नगरेको पछुतो पो भयो कि क्या हो मानसिक समस्या आइलागेको बोहराले बताए।

भतिज टेकको संरक्षणमा रहेकी भुटीदिदी जीवनभर घरायसी काममै बितेको हुँदा उनलाई विहे गर्न पनि आवश्यक नठानेर अविवाहित नै बसेको टेकले बताए। उनका अनुसार त्यो बेलामा गाउँमा नागरिकताको आवश्यकताबारे पनि कसैलाई थाहा थिएन। विसं ०६४ सालतिर गाउँमा नागरिकता दिने घुम्ती टोली आएपछि धेरैले नागरिकता पाएको र फुपू गोठालो गएको हुँदा छुटेको उनले सुनाए। 'उहाँलाई मात्रै होइन, हामीलाई पनि नागरिकताको बारेमा जानकारी थिएन। पछि घुम्ती शिविरको बेलामा नागरिकता र सरकारी सेवा सुविधाबारे जानकारी भयो। त्यसपछि गाउँमा भेटिएकाले नागरिकता बनाएका थिए,' उनले भने। 

भतिज टेकका अनुसार त्यस बेलामा पनि धेरै जनाको नागरिकता बनाउन छुटेको थियो। 'अहिलेको जस्तो सञ्चार थिएन। त्यसैमा पनि साइपाल गाउँपालिकामा हुने कुरै भएन। नागरिकता दिने टोली गाउँमा आयो। गाउँमा जति भेटिए, उनीहरूले नागरिकता पाए। टेक अहिले फुपूको नागरिकता समयमै नबनाएकोमा पछुतो गर्छन्। 'त्यसैबेला बनाएको भए राज्यले दिने सेवा केही पाइन्थ्यो कि! अहिले त वृद्धभत्ता पनि पाइन्छ। नागरिकता नहुँदा यतिका वर्ष त्यसबाट वञ्चित हुनुभयो,' उनले भने।

साइपालवासीलाई नागरिकता बनाउन त्यति सजिलो छैन। पैदल हिँडेर नै चार-पाँच दिनसम्म लाग्ने सदरमुकाम ओहोरदोहोर गर्दा प्रतिव्यक्ति ३० हजार खर्च हुन्छ। खर्च र समयका कारण पनि केहीले नागरिकता लिन ढिलाइ गरेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुँइकेल बताउँछन्। 

प्रमुख जिल्ला अधिकारी भन्छन्, 'सात दशकसम्म पनि नागरिकता नपाएको भन्ने खबर सुनेपछि घरमै गएर पनि नागरिकता दिनुपर्छ भन्ने सोचें। त्यसका लागि हिँडेरै भए पनि साइपाल जाने तयारीमा थियौं। सौभाग्यवश, साइपालमा जलविद्युत् उत्पादनको तयारी गरिरहेको कम्पनीको हेलिकोप्टर आयो। त्यसैमा गएर नागरिकता प्रदान गर्‍यौं।' -रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.