एमालेको समृद्धिका लागि संकल्प यात्रा आज पर्वतमा
पर्वत : नेकपा (एमाले)ले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’आज पर्वत आइपुग्ने भएको छ। बिहान बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वत आउन लागेको हो।
संकल्प यात्रालाई लक्षित गरेर नेकपा एमाले पर्वतले कुश्माबजारमा जनसभाको तयारी गरेको छ। उक्त जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष राजु पौडेलले जानकारी दिए।
अध्यक्ष पौडेलका अनुसार दिउँसो १ बजे ओली पर्वत र बागलुङको सिमाना मालढुङ्गामा आइपुग्ने र पर्वतमा स्वागत गर्ने कार्यक्रम रहेको छ। त्यसलगत्तै सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पौडेलले बताए।
आमसभा सकिएपछि पर्वत र कास्कीको सिमाना नयाँपुलमा पुगेर बिदाइ गरिने भएको छ। संकल्प यात्रामा निस्किएको एमालेको टोली आज पोखरामा बस्ने भएको छ।
पर्वतमा आयोजित आमसभाको सबैजसो तयारी पूरा भएको छ। आमसभा अघि कुश्माबजारका चार वटा स्थानबाट जुलुस प्रदर्शन गरिने भएको छ। फलेवास, विहादी, पैंयु र महाशिलाको बडागाउँचौरदेखि, मोदीको खरेहादेखि, जलजलाको पुरानोबजार र कुश्मा नगरपालिकाको मैत्रीचोकदेखि जुलुस निस्किने र लोकतन्त्र चोकमा पुगेर एकत्रित हुँदै बान्द्रेविडिमा आयोजित सभामा परिणत हुने भएको छ।
जिल्लाका सातवटै गाउँपालिका र एमालेका भ्रातृ सङ्गठनका छुट्टाछुट्टै र्याली, झाँकी, भजन तथा पञ्चेबाजासहितको जुलुस निकालिने र उत्कृष्ट जुलुस प्रदर्शन गर्ने समूहलाई पुरस्कारको समेत व्यवस्था गरिएको जिल्ला सचिव गोविन्द पहाडीले जानकारी दिए।
संकल्प यात्रालाई लक्षित गरी पर्वत र बागलुङको सिमाना मालढुङ्गादेखि कास्की र पर्वतको सिमाना नयाँपुलसम्म झकिझकाउ पारिएको छ। –रासस