अन्‍नपूर्ण पोस्ट्‍ राष्ट्रिय दैनिकले छान्यो नेपालका पुग्नै पर्ने १००० गन्तव्य

प्रधानमन्त्री दाहाल भन्छन्, अन्‍नपूर्ण पोस्ट्‍को अभियानले राष्ट्रलाई समृद्धिको शिखरमा पुर्‍याउँछ

अन्‍नपूर्ण पोस्ट्‍ राष्ट्रिय दैनिकले छान्यो नेपालका पुग्नै पर्ने १००० गन्तव्य
सुन्नुहोस्

अन्‍नपूर्णपोस्ट्‍ राष्ट्रिय दैनिकले ७७ वटै जिल्लाका महत्त्वपूर्ण १००० गन्तव्यको संग्रह सहस्रयात्रा प्रकाशन गरेको छ। अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले अन्‍नपूर्णपोस्ट राष्ट्रिय दैनिकले सहस्रयात्रा विशेषांक प्रकाशन गरेको हो।

सहस्रयात्रामा प्रत्येक जिल्लाका गन्तव्यहरुको पहिचान गर्ने कोशिश गरिएको छ। अन्‍नपूर्णपोस्ट्‍ले सहस्रयात्राको पहिलो पाइलाको रुपमा पर्यटन क्षेत्रलाई छानेको छ।

सहस्रयात्रा प्रकाशनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी, अन्‍नपूर्णमिडिया नेटवर्कका अध्यक्ष रामेश्‍वर थापाले शुभकामना दिएका छन्।

सहस्रयात्रा विशेषांक प्रकाशन भएको अवसरमा अन्‍नपूर्णपोस्ट्‍ राष्ट्रिय दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारीले विश्व अखबारीय इतिहासमा यति ठूलो कभर स्टोरी सम्भवत पहिलो भएको दावी गर्दै विशेष सम्पादकीय लेखेका छन्। 

सहस्र शुभकामना

 nullपुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्री
 
अन्‍नपूर्णपोस्ट् राष्ट्रिय दैनिकले ७७ वटै जिल्लाका महत्त्वपूर्ण १००० गन्तव्यको संग्रह ‘सहस्रयात्रा’ विशेषांक प्रकाशन गरेकोमा मलाई खुसी लागेको छ। गणतन्त्र स्थापनापछि तीव्र गति लिइरहेको भौतिक विकासमार्फत राष्ट्रलाई समृद्धिको शिखरमा पुर्‍याउन सरकार प्रयासरत छ। देशको समग्र आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणमा सरकार लागिपरेको छ। यसमा होस्टे हैंसे गर्न नागरिक समुदायसहित पत्रकारिता क्षेत्रको अहम् भूमिका छ। अन्‍नपूर्णपोस्ट्ले यो र यस्ता विशेषांकमार्फत राष्ट्रलाई दिशाबोध गर्दै आएको छ। यी शृंखलाले निरन्तरता पाऊन्, मेरो सहस्र शुभकामना।

समृद्धितर्फ डोर्‍याउने काम

 nullसुदन किराती, मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन

व्यवस्था परिवर्तनका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएका नेपाली सञ्चारमाध्यमले देशलाई समृद्धितर्फ डोर्‍याउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। लोकप्रिय सञ्चारमाध्यम अन्‍नपूर्णपोस्ट् राष्ट्रिय दैनिकले पर्यटकीय, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, कृत्रिम र सम्पदायुक्त ‘सहस्र गन्तव्य’बारे विशेषांक प्रकाशन गरेर ज्यादै प्रशंसनीय कार्य गरेको छ। यो समृद्धितर्फ डोर्‍याउने काम नै हो। यो विशेषांकले सातै प्रदेशका महत्त्वपूर्ण, सम्भावनायुक्त र ओझेलमा परेका धार्मिक तथा ऐतिहासिक क्षेत्रहरू मात्रै उजागर गर्ने छैन, नेपालको आर्थिक मेरुदण्डको रूपमा समग्र पर्यटन क्षेत्रलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा समेत स्थापित गर्नेछ। यस उदाहरणीय कार्यका लागि अन्‍नपूर्णपोस्ट् दैनिकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय आभार व्यक्त गर्दछ।

देश–समृद्धिको मेरुदण्ड

nullक्या. रामेश्‍वर थापा, अध्यक्ष, अन्‍नपूर्णमिडिया नेटवर्क

गहन र खोजमूलक सामग्रीलाई समग्रतामा पस्कने खालका विशेषांक शृंखलामा उकालो चढ्दै हामी १००० खुड्किलामा आइपुगेका छौं। देशको सामाजिक, आर्थिक र राजनीतिक विकासमा अन्‍नपूर्णमिडिया नेटवर्कअन्तर्गतका अन्‍नपूर्णपोस्ट्लगायत मिडियाले महत्त्वपूर्ण जिम्मेवारीबोध गर्दै आएका छन्। 
हामीले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानलाई प्रमुख परिचायक बनाएका छौं। समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य हाम्रो पत्रकारिताको मूल ध्येय हो। त्यस अभियानमा हामीले दत्तचित्त भई राष्ट्रहितका लागि कर्मठ योगदान दिइरहेका छौं। त्यही कर्तव्यनिष्ठ पत्रकारिताको दायित्वबोध ‘सहस्रयात्रा’ विशेषांकको विशेषता हो। राष्ट्रलाई अप्ठ्यारो पर्दा सघाउने, सुशासनमा पहरेदारको भूमिका निर्वाह गर्ने, नागरिक सचेतनाको जिम्मेवारी बहन गर्ने र समृद्धिको मेरुदण्ड बन्ने हाम्रो अभियान हो। यस क्रममा विभिन्न खोजमूलक विशेषांकका ठोस संस्करणहरू हामीले प्रकाशन गर्दै आएका छौं। ‘सहस्रयात्रा’को पहिलो पाइलाका रूपमा पर्यटनलाई छानेका छौं। किनकि प्राकृतिक सुन्दरता र भौगोलिक अनुपमतायुक्त हाम्रो देश–समृद्धिको चुचुरोमा पुग्ने मुख्य आधार पर्यटन हो। यसको विकासका लागि मार्गदर्शन गर्न पत्रकारिताको दायित्व हो। हामीले त्यसैको बहन गरेका हौं। 
पर्यटन अर्को यस्तो समृद्धिको सूचक हो जसको विकासबाट देशमा ठूलो मात्रामा रोजगारी सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्न सकिन्छ। यथार्थमा देशमै पर्यटनबाट सुनमात्र होइन हीरा फलाउन सम्भव छ। 
कोभिड महामारीपछि थला परेको पर्यटन क्षेत्र भर्खरै सक्रिय बनेको छ। गएको अक्टोबर–नोभेम्बरको यो सिजनमा विदेशी पर्यटक आगमनको संख्याले कीर्तिमान बनाएको छ। यो अवस्थाको निरन्तरता अबको आवश्यकता हो। यसमा सरकार, व्यवसायी, मिडिया र सर्वसाधारणको महत्त्वपूर्ण भूमिका हुन्छ। अर्कातर्फ पर्यटनको विकासमा उड्डयन क्षेत्रको विकास र सहभागिता पनि उत्तिकै जरुरी हुन्छ। सरकारले यसमा पनि ध्यान पुर्‍याउन आवश्यक छ। 
हामी पत्रकारिताको माध्यमबाट यी र यस्ता जिम्मेवारीबोधमा सदा कटिबद्ध छौं। त्यसैले पनि यस विशेषांकमा ७७ वटै जिल्लाका पुग्नैपर्ने यस्ता गन्तव्य उजागर गरेका छौं, जसले तीनको विकासमा साथ सहयोग पुग्ने अपेक्षा लिएका छौं। र, भविष्यमा देश 
समृद्धिका अन्य विधागत विशेषांकका खँदिला सामग्रीसहित प्रस्तुत भइरहने छौं। 

पर्यटन क्षेत्र चलायमान बनाउन सञ्चार क्षेत्रको अहम् भूमिका

nullडा. धनञ्जय रेग्मी, कार्यकारी प्रमुख, नेपाल पर्यटन बोर्ड

नेपालको अग्रणी सञ्चार संस्था अन्‍नपूर्णमिडिया नेटवर्क लिमिटेडले नेपालको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महत्त्वपूर्ण १००० गन्तव्यको संग्रह ‘सहस्रयात्रा’ नामक विशेष अंक प्रकाशन गर्ने लागेको जानकारी पाउँदा खुसी लागेको छ। नेपालको सन्दर्भमा अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन विभिन्न क्षेत्रको भूमिका रहेझैं सञ्चार क्षेत्रको समेत अहम् भूमिका छ।

नेपालका हरेक जिल्लामा थुप्रै पर्यटकीय गन्तव्यहरू छन्। धार्मिक आस्थाका धरोहर मन्दिरहरू, मनोरम ताल, झरनाहरू, गुफा, संग्रहालयलगायतका स्थलहरू प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएका छन्। यसको प्रवद्र्धन आजको आवश्यकता हो। नेपाल पर्यटन बोर्डले स्थापनाको २५औं वर्षसम्म आइपुग्दा नेपालको समग्र पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुका साथै स्थानीय स्तरमा रहेका आन्तरिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन, प्रचारप्रसार एवं ब्रान्डिङलगायतका क्षेत्रमा निरन्तर कार्य गर्दै आइरहेको छ। यद्यपि हामीले गरिरहेका कार्य पर्याप्त नहुन सक्छन्।
यसै सन्दर्भमा अन्‍नपूर्णमिडिया नेटवर्क लिमिटेडले सातै प्रदेश र जिल्लाहरूमा रहेका एक हजार पर्यटकीय गन्तव्यलाई समेटेर प्रकाशन गर्न लागेको यो विशेष अंकले नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ भन्नेमा म विश्वस्त छु। यो प्रकाशनले नेपालको समग्र पर्यटनका बारेमा जान्न चाहने तथा भ्रमण गर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गर्न सफल हुनेछ भन्ने विश्वास लिँदै नेपाल पर्यटन बोर्डको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु।

विशेष सम्पादकीय

पत्रकारिताको नयाँ परिभाषा

nullअखण्ड भण्डारी, प्रधान सम्पादक, अन्‍नपूर्णपोस्ट्

पत्रकारिता समाजको बहुआयामिक दर्पण हो। शिक्षा, सूचना र मनोरञ्जन यसका परम्परागत चरित्र हुन्। बदलिँदो परिवेशअनुसार दायित्व थपिएका छन्।

अबको पत्रकारिताले रूपान्तरण र दिशाबोधको जिम्मेवारीसमेत बहन गर्नुपर्ने छ। अन्‍नपूर्णपोस्ट् समाज, देश र नागरिकको हितार्थ यस्ता दायित्वमा सदा अग्रपंक्तिमा रहँदै आएको छ। पत्रकारितालाई खोजमूलक र गहनतापूर्ण ढंगबाट राष्ट्रको समृद्धिमा घचघच्याउँदै आएको छ। यही सिलसिलाको एउटा शृंखला हो यो पर्यटन विशेषांक।

विश्व अखबारीय इतिहासमा यति ठूलो कभर स्टोरी सम्भवतः पहिलो हो। हामी कुनै पनि विषयवस्तुलाई गहिराइसम्म खोज्छौं। सम्पूर्णतःमा पस्कने गर्छौं। यो त्यसको उदाहरण हो। शत–शृंखलाका करिब एक दर्जन संस्करणपछि हामीले सहस्र (हजार) यात्रामा पाइला टेकेका छौं। यो सहस्रयात्रा पर्यटकीय गन्तव्यको यात्रा मात्र होइन, पत्रकारिताको परिभाषा बदल्ने यात्राको पनि सहस्र पाइला हो। घटनापरक समाचार प्रधान रहने पत्रकारिता दैनिक अखबारका लागि अब असान्दर्भिक भइसकेको छ। अब दैनिक अखबार पठनीयसँगै संग्रहणीय दस्ताबेज बन्न सक्नुपर्छ। समयको यही माग–बोधलाई हामीले सम्बोधन गर्ने जमर्को गरेका हौं। भविष्यमा अझ व्यापक र गहन विषयवस्तुसाथ प्रस्तुत हुनेछौं। आशा छ, तपाईंहरूबाट निरन्तर माया, साथ, सहयोग र उत्प्रेरणा पाइरहने छौं।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.