सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती
सुन्नुहोस्

बेनी :  केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ। 

पर्यटक याममा दैनिक तीन सय ५० जनाको हाराहारीमा विदेशी पर्यटक आउने अन्नपूर्ण गाउँपालिका-६ मा अवस्थित पुनहिल, घोडेपानी क्षेत्रमा यो वर्षको पर्यटकयाममा एक सय ५० जनाको हाराहारीमा मात्रै विदेशी पर्यटक भित्रिए।

पछिल्ला वर्षमा घोडेपानीका होटल व्यवसायीले पर्यटकलाई लक्षित गरेर सुविधासम्पन्न होटल खोल्ने लहर नै चलेको छ। पुराना होटल व्यवसायीले होटलको क्षमता र सुविधा बढाएका छन्। पहिले छाप्रोबाट होटल सुरु गरेका व्यवसायीले अहिले घोडेपानीमा पक्की घर नै बनाएर सुविधायुक्त होटल सञ्चालन गरिरहेका छन्। 

होटलको क्षमता र सुविधा विस्तारले पर्यटकलाई सुविधा पुगे पनि पुनहिल क्षेत्रको भ्रमणमा आउने विदेशी पर्यटकको संख्या घट्दै गएको घोडेपानीका होटल व्यवसायी क्याप्टेन डमबहादुर गर्वुजा पुनले बताए। 'घोडेपानीमा एक दिनमा एक हजार दुई सय जनालाई सहजैरूपमा खाना  र बसोबासको प्रबन्ध मिलाउन सक्ने क्षमता छ, व्यवसायीले पनि होटल क्षेत्रमै सुविधा बढाउन र स्तरीय बनाउन लगानी गरिरहेका छन्, तर विदेशी पर्यटक आउने संख्या हरेक वर्ष घट्दै गएको छ', उनले भने।

गत साउनदेखि मंसिर दोस्रो सातासम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेका छन्। विगतका वर्षको तुलनामा यस वर्षको विदेशी पर्यटकको संख्या कम रहेको होटल व्यवसायी बताउँछन्। घोडेपानी पुनहिल क्षेत्रमा विदेशी पर्यटकको संख्या घट्नुको प्रमुख कारण कच्ची सडकले पदमार्गलाई विस्थापित गर्नुलाई मानिएको छ। 

जर्मनका १२ पर्यटकलाई पुनहिल क्षेत्रको भ्रमणमा ल्याएका मल्टि एडभेन्चर कम्पनीका डाइला शेर्पाले अन्नपूर्ण पदमार्ग क्षेत्रमा बढ्दो कच्ची सडक र धुलोको कारण विदेशी पर्यटकको आकर्षण घट्दै गएको बताए।
 
विगत २० वर्षदेखि अन्नपूर्णलगायतका मुलुकका विभिन्न क्षेत्रमा पर्यटक घुमाउने काममा सक्रिय शेर्पाले पदमार्गलाई मास्ने र विस्थापित गर्नेगरी खनिएका सडकका कारण पुराना स्थापित पर्यटकीय गन्तव्यमा विदेशी पर्यटकको रोजाइ घट्दो रहेको बताए। 'विदेशी नेपालको रमणीय डाँडाकाँडा र पहाडमा पदयात्रा गर्न आउने हुन्, अब सडकले सबै पदमार्गलाई विस्थापित गर्दै खनिएका छन्, कच्ची सडकमै पर्यटकलाई धुलो धुँवा खुवाएर हिँडाउनुपर्छ, यो उनीहरूलाई मन पर्ने कुरा भएन, त्यसैले सडकले विस्थापित भएका ट्रेकिङ ट्रेललाई सडकले नछुने गरी पुनःनिर्माण गर्न जरुरी छ', उनले भने। उनका अनुसार चक्रीय अन्नपूर्ण पदमार्ग क्षेत्रमा सडक विस्तारले पदमार्ग विस्थापित भएका छन् भने पर्यटकको यात्रा अवधिसमेत छोटिएको छ। 

पुनहिलबाट सूर्योदय र हिमशृङ्खलाको अवलोकन गरी फर्कँदै गरेकी अमेरिकी पर्यटक ग्योरीले प्राकृतिक सुन्दरताले भरिएको यो क्षेत्रलाई पदमार्ग मासेर खसेका सडकको धुँवा र धुलो समस्याका रूपमा देखिएको अनुभूति सुनाइन्। 'हामी पहिलोपटक यहाँ आएका हौँ, पुनहिल साँच्चिकैको रमणीय रहेछ, यहाँबाट देखिने हिमशृङ्खला र सूर्योदयले मनै लोभ्याएको छ, तर यहाँ आइपुग्दा पदयात्रामा सडकको धुलो र धुँवाले हामीलाई नमज्जा लाग्यो', उनले भनिन्।
 
सडकको पहुँचले आन्तरिक पर्यटकको आगमन भने बढ्दो छ। अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार-शिख-चित्रे हुँदै घोडेपानीसम्म सडक पुगे पनि देशका विभिन्न स्थानका विद्यालय, कार्यालय, संघसंस्था, समूहबाट पुनहिल क्षेत्रको भ्रमणमा पुग्ने बढेका छन्। आन्तरिक पर्यटक बढे पनि समग्रमा पर्यटन क्षेत्रको प्रभाव विदेशी पर्यटकमै निर्भर हुने भएकाले विदशी पर्यटकको आगमन घट्दै जाँदा पर्यटन व्यवसायी चिन्तित छन्। पुनहिल घोडेपानी पुग्ने पुरानो पदमार्गमध्येमा पर्ने पोखरेबगर-घार-शिख-चित्रे-घोडेपानी पदमार्ग पूर्णरूपमा सडकले विस्थापित गरेको छ।

यो पदमार्गमा आउने पर्यटकलाई लक्षित गरी दूरविनडाँडा, घार, शिखलगायतका क्षेत्रमा खोलिएका होटल पूर्णरूपमा बन्द भइसकेका छन्। घोडेपानी पुनहिल पुग्ने मुख्य पदमार्गमध्ये कास्कीबाट उल्लेरी हुँदै आउने पदमार्गसमेत अधिकांश सडकले मासिएको भन्दै पथप्रदर्शक चिन्तित छन्। 

सडक विस्तार गर्दा पदमार्गलाई जोगाउने गरी सडकको नक्सांकन र विस्तार गर्न उनीहरूले माग गरेका छन्। घोडेपानीमा कास्कीको घान्द्रुक भएर आउने पदमार्गका साथै अन्नपूर्ण धवलागिरि सामुदायिक पदमार्ग हुँदै मोहरेडाँडा र फूलबारी हुँदैसमेत पर्यटक पुग्ने गर्छन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.