बालाचतुर्दशी पर्व : दिवङ्गत पितृको सम्झनामा पशुपतिनाथमा शतबीज छरियो (भिडियो)
काठमाडौं : दिवङ्गत पितृको सम्झनामा पशुपतिनाथलगायत देशभरका शिवालयमा सोमबार बिहान शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ । त्रयोदशीको दिन आइतबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन सोमबार बिहानै पितृको सद्गतिको कामना गर्दै शतबीज छरेका हुन् ।
बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिनाथमा भीड थियो । आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै पशुपति क्षेत्रका १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वरमा शतबीज छर्ने गरिन्छ ।
शतबीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्याइदिन अनुरोध गर्ने चलन छ ।
शतबीज छर्न पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुहृयेश्वरीको पूजा अनिवार्य गर्नुपर्ने शास्त्रीय वचन छ । शतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ ।
भगवान् शिव मृगरूप लिएर घुमेको भनिने क्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवगंत आत्माले पनि मुक्ति पाउने धार्मिक विश्वास छ । पशुपतिनाथ मन्दिर आउन नसक्ने भक्तजनले भने आ–आफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छरेका छन् ।