नेप्से परिसूचक घटे पनि कारोबारमा बहार
काठमाडौं : चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नीतिगत व्यवस्था सार्वजनिक भएपछिको पहिलो दिन सेयर बजारमा अप्रत्याशित उछाल आयो। तर सोमबार भने नेप्से सूचक घट्यो।
नेप्से परिसूचक सोमबार १५.४० अंकले घटेर १९८४.५७ बिन्दुमा कायम भयो। यो ०.७८ प्रतिशत हो। बिहान प्रि–ओपन सेसनमा २५ अंक बढीले बढेको सेयर बजार नियमित कारोबार बिहान ११ बजेपछि ओरालो लागेको थियो। साताको पहिलो सेयर कारोबार दिन आइतबार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर सेयर बजार बन्द भएको थियो। नेप्से परिसूचक घटे पनि सेयर कारोबारमा भने बहार आएको छ।
उक्त दिन ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ। यो कारोबार रकममा भने लगानीकर्ता उत्साहित भएकाले बढेको पुष्टि हुन्छ। यो कारोबारको प्रवृत्ति हेर्दा छोटो अवधिका लगानीकर्ताले नाफा बुक गर्नतर्फ लागेकाले नेप्से परिसूचक भने ओरालो लागेको सेयर विश्लेषक बताउँछन्। यद्यपि उक्त दिन ३ सय ३ धितोपत्रको १ करोड ४६ लाख ९८ हजार ५ सय १७ कित्ता सेयर किनबेच भएको छ। यस दिन ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल, सामुदायिक लघुवित्त वित्तीय, डोल्टी पावर र हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
यता समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त संस्थाको सेयर ७.१५ प्रतिशतले घट्यो। यसैगरी मन्दाकिनी हाइड्रोपावर, स्वावलम्बन लघुवित्त वित्तीय, एसियन हाइड्रोपावर र अपर स्याङ्गी हाइड्रोपावर गुमाउने शीर्ष पाँचभित्र परेका छन्। कारोबार रकमका आधारमा सोनपुर मिनरल्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १५ करोड रुपैयाँ बढी मूल्यको सेयर कारोबार भयो।
यसैगरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड, सिटिजन लाइफ इन्स्योरेन्सको १४ करोड र शिवम् सिमेन्टको १३ करोड रुपैयाँ बढी मूल्यको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये ८ को मूल्य घट्यो भने ५ वटाको मात्र बढ्यो। १ सय ५७ धितोपत्रको मूल्य घट्दा ८१ वटाको मात्र बढ्यो। बाँकी ३ धितोपत्रको मूल्य भने स्थिर रहेको छ।