ढल्केवरमा तेस्रो मिथिला कप ब्याडमिन्टन प्रतियोगिता
ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकामा तेस्रो मिथिला कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। शनिबार ढल्केवरस्थित कबर्ड हलमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराकासाथ मिथिला ब्याडमिन्टन क्लबको आयोजनामा नगरस्तरीय उक्त प्रतियोगिता सम्पन्न भएको हो।
जुनियर, सिनियर र भेट्रान गरेर तीन समूहमा प्रतियोगिता गराइएको थियो। प्रतियोगितामा तीनवटै समूह गरेर नगरभित्रका दुई दर्जन बढी टिम सहभागी भएको मिथिला ब्याडमिन्टन क्लबका अध्यक्ष सन्तोषकुमार महतोले जानकारी दिए।
उक्त प्रतियोगितामा भेट्रान समूहतर्फ नरेन्द्र कार्की–विनोद कुमार सिंह टिमले प्रथम स्थान हासिल गरेका छन्। सर्वनाथ महतो–विश्वेश्वर साह टिम द्वितीय र अरुणकुमार महतो–शिवशंकर महतो टिमले तृतीय स्थान हासिल गरेका हुन्।
सिनियर समूहतर्फ सुमित थोकर–बासुदेव बम्जन टिम प्रथम, सन्तोषकुमार महतो–देवीबहादुर तोलाङ्गी टिम द्वितीय र तेजनारायण साह–अर्जुन मेहतर टिम तृतीय स्थान हासिल गरेको क्लबका सचिव सन्तोष कुमार महतो डिएमसीले जनाए।
उनका अनुसार जुनियर टिमतर्फ तेजेन्द्र लिम्बु–हरिकृष्ण भण्डारी टिम प्रथम, विपुल कुमार महतो–केवल राउत टिम द्वितीय र तीर्थप्रसाद सिंह–बब्लुकुमार झा टिमले तृतीय स्थान प्राप्त गरेका छन्।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान ल्याउने टिमलाई शिल्ड, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो। उनीहरूलाई मधेस प्रदेशसभाका प्रदेशसभा सदस्य हरिनारायण महतो, मधेस प्रदेशका नीति तथा योजना आयोगका पूर्वसदस्य प्रमिला सिंहलगायतले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।