विप्लवविरुद्ध जारी भएको पक्राउ पूर्जी आदेशविरुद्ध समाजवादी मोर्चाको आपत्ति

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र सोही पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'लगायतविरुद्ध पक्राउ पूर्जी आदेश भएपछि नेपाल समाजवादी मोर्चाले गम्भीर आपत्ति जनाएको छ।
काठमाडौं जिल्ला अदालतले जारी गरेको उक्त आदेशले द्वन्द्व सिर्जना गर्ने भन्दै समाजवादी मोर्चाले आपत्ति जनाएको हो। मोर्चाका संयोजक माधव कुमार नेपालले विज्ञप्तिमा जारी गर्दै नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले गरेको तीन बुँदे सम्झौता कार्यान्वयन गर्न माग गरे।
'केही दिनअघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव कमरेड विप्लव र प्रवक्ता कमरेड प्रकाण्ड सीलगायतका नेताविरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति समाजवादी मोर्चा नेपालको गम्भीर ध्यानाकर्षित भएको छ। मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा यस प्रकारको कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिनका लागि नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुदे सम्झौतालाई पूर्णरूपमा कार्यान्वयन गर्न हामी नेपाल सरकार र सम्बद्ध पक्षलाई आह्वान गर्दछौं,' विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस !
