सातौं बागलुङ महोत्सव पुस ११ देखि
बागलुङ : बागलुङमा सातौं बागलुङ महोत्सव– २०८० हुने भएको छ। ‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार, समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नाराका साथ बागलुङ उद्योग वाणिज्य संघले आगामी पुस ११ गतेदेखि २२ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको हो।
महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला स्तरमा विकास गर्न लागिएको संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए। उनले पछिल्लो समय बागलुङको व्यापार सुस्ताउँदै गएकाले बजारलाई चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए।
महोत्सवमा व्यावसायिक १ सय २०, प्रवद्र्धनात्मक स्टल ३० र मेडइन बागलुङ स्टल रहने बताए। ‘व्यवसायको लागि १ सय २० स्टल रहनेछन्। महोत्सवमा अंग्रेजी नयाँ वर्ष पर्ने भएकाले धेरै पर्यटकलाई बागलुङ भिœयाउने लक्ष्य रहेको अध्यक्ष कँडेलको भनाइ छ।
महोत्सवमा खुल्ला राष्ट्रिय दोहोरी तथा लाइभ दोहोरी गीत प्रतियोगिता, पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला भजन प्रतियोगिता, युवा उद्यमी सम्मेलन, विभिन्न झाँकी प्रदर्शनी र राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुतिसहित लाइभ डिजे कन्सर्ट हुने जनाइएको छ। मेलाको उद्घाटन पुस ११ गते राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने बागलुङ उद्योग वाणिज्य संघले जनाएको छ।