चिसोमा चिलब्लेन्स
चिसो बढिरहेको छ। जाडोको मौसममा रुघाखोकी र ज्वरोको समस्या बढी नै देखिन्छ। यसका साथै एउटा अर्को स्वास्थ्य समस्या पनि थपिन्छ। जसलाई मेडिकल भाषामा चिलब्लेन्स र नेपालीमा तुषारागात (शीतदंश) भनिन्छ। यो रोग हुने सम्भावना चिसोमा बढी हुन्छ।
चिलब्लेन्स कुनै नयाँ किसिमको रोग होइन। हरेक वर्ष जाडोमा यो समस्याले कतिपयलाई असर गर्छ। धेरैजसो मानिसहरू न्यानो लुगाको मद्दतले चिसो तापक्रमको सामना गर्न सक्षम हुन्छन्। केही मानिस भने चिसोबाट जोगिन न्यानो लुगा लगाएता पनि तिनको शरीरको छाला अति संवेदनशील हुन्छ र चिसोमा अलि बढी प्रतिक्रिया दिन्छ। तीमध्ये केही मानिसको परिवारमा पनि यो प्रवृत्ति चलिरहेको हुन्छ। विशेषगरी यो रोग पुरुषभन्दा महिलामा बढी देखिन्छ, जसलाई चिसोमा बढी काम काज गर्नुपर्ने हुन्छ।
चिलब्लेन्स भनेको के हो ?
संक्षिप्तमा भन्नुपर्दा तन्तु (टिस्युज)हरूको क्षति हुनु हो। जुन अत्यधिक चिसोका कारण केही मानिसमा हुने गर्छ। यसले प्रायः हात, खुट्टा, कान र नाकलाई समेत असर गर्छ। यो रोगले शरीरको प्रभावित टिस्युज रातो भई सुन्निने रूपमा प्रतिविम्बित गर्छ। चिलब्लेन्स अत्यधिक चिसोमा शरीरले देखाउने एक किसिमको प्रतिक्रिया हो।
चिलब्लेन्स हुने कारण के हो ?
जसको शरीरको छाला अति संवेदनशील हुन्छ। अत्यधिक चिसोबाट एक्कासि बढी गर्मी वा गर्मीबाट अचानक चिसो ठाउँमा जाँदा ‘चिलब्लेन्स’को समस्या हुन सक्छ। यो समस्या सबैभन्दा बढी पुस महिनाको अन्तमा र माघ महिनाको सुरुआतमा देखिन्छ। कारण के भने यो समयमा चिसो बढी हुन्छ।
चिलब्लेन्सका लक्षणहरू
- हातखुट्टा सुन्निने, चिलाउने र रातो हुने।
- हातका औंलाहरू बढी सुनिन्छन्।
- खुट्टाका औंलाहरू रातो हुने, सुन्निने र अत्यधिक दुख्छन्।
- केही रोगीहरूको छाला रातो भई फोका पनि आउन सक्छ।
- छालको रङ रातो, बैगुनी वा नीलो पनि हुन सक्छ।
- खुट्टामा जुत्ता, चप्पल लगाउन पनि अप्ठ्यारो हुन्छ।
- हुन त हात र खुट्टा बढी प्रभावित हुन्छन् तर नाक र कान (लोती)मा पनि चिलब्लेन्स हुन सक्छ।
- शरीरको प्रभावित अंगमा अत्यधिक चिलाउने र जलनको अनुभव हुने गर्छ।
- धैरे चिलाउनाले प्रभावित भागमा घाउ पनि हुन्छ।
- यसबाट छालाको क्यान्सर हुने खतरा पनि हुन सक्छ।
चिलब्लेन्स भए के गर्ने र के नगर्ने ?
यदि चिलब्लेन्सको चिह्न र लक्षणहरू तपाईंको शरीरमा देखियो वा अत्यधिक चिलाउने, हात वा खुट्टाका औंलाहरू, कानका लोती या नाक रातो हुने वा सुन्निने आदि भयो भने पनि उक्त प्रभावित भागलाई न्यानो बनाउन रगड्ने नगर्नुस्। किनभने यसले टिस्युजहरूलाई क्षति पुर्याउन सक्छ।
प्रभावित भागलाई नङले कन्याउनुभन्दा कपडाले हल्का किसिमले सुम्सुम्याउने, शरीरको प्रभावित भागलाई न्यानो बनाउन सोझै आगो, हिटर वा स्टोभको छेउमा बसेर सेकाउने काम गर्नु हुँदैन। यसले तपाईंको समस्या घट्नुको सट्टा झन् बढ्न सक्छ। यसबाट राहत पाउनका लागि गर्मी पानीमा अलिकति नुन हालेर त्यसमा केही समय हातखुट्टा डुबाउनु पर्छ। नियमित व्यायाम गर्नुहोस् किनकि यसले रक्तसञ्चार सुधार गर्छ। यदि कष्ट बढी भएमा चिकित्सकलाई भेट्नु पर्छ।
चिलब्लेन्सबाट बच्न के गर्ने ?
सकेसम्म चिसोबाट बच्नुपर्छ। यदि बाहिर नगई नहुने अवस्था छ भनेमात्र बाहिर निस्कनु पर्छ। नत्र घरबाट बाहिर ननिस्किनु नै राम्रो हुन्छ। घरमै बस्ने र घरमा बस्दा पनि न्यानो किसिमका लुगा लगाउने काम गर्नुपर्छ। हातमा पञ्जा र खुट्टामा मोजा लगाउनु पर्छ।
हात र खुट्टालाई चिसोपानीबाट बचाउने उपायमा ध्यान दिनुपर्छ। यदि घरधन्दा, भाडावर्तन धुनु छ भने गर्मीपानीको प्रयोग गर्नुपर्छ। हात धोएलगत्तै चिसो नराखी तौलिया आदि नरम कपडाले पुछेर सुक्खा बनाइहाल्नु पर्छ।
चिलब्लेन्सको उपचार
चिलब्लेन्सका कारण वर्षैपिच्छे बिरामी हुने गर्छन्। सामान्यतया मानिसमा यो धारणा छ कि चिलब्लेन्सको कुनै उपचार छैन। यो सत्य होइन, तथ्य हो। एलोप्याथी चिकित्सा प्रणालीमा चिलब्लेन्सको कुनै प्रभावकारी उपचार छैन। यसको मतलव यो होइन कि चिल्बलेन्सको उपचारै छैन। होमियोप्याथीमा यसको उपचार सहज ढंगबाटै सम्भव छ।
होमियोप्याथिक उपचार
होमियोप्याथिक औषधिले चिलब्लेन्सको लक्षणहरूलाई तत्कालै निको पार्छ। समस्यालाई पूर्णरूपले निर्मूल पार्न मद्दत गर्न सक्छ। बिरामीको हरेक वर्ष जाडोयाममा चिलब्लेन्स हुने प्रवृत्ति कम हुन्छ।
चिल्बलेन्सको उपचारमा प्रयोग गरिने निम्न लिखित होमियोप्याथिक औषधिहरू धेरै प्रभावकारी छन्। जसमा एगरिकस मसकेरियस, पेट्रोलियम, पल्साटिला, नाइट्रिक एसिड, रसटाक्स, आर्सेनिक एलब्म, कार्बोभेज, लेकेसिस आदि। उपरोक्त औषधिहरूको प्रयोग योग्य तथा अनुभवी होमियोप्याथिक चिकित्सकको सल्लाहबमोजिम प्रयोग गर्नु लाभदायक हुनेछ। अस्तु !
मिश्र, होमियोप्याथिक कन्सलटेन्ट हुन्।