मोरङ कारागारका थुनुवाको मृत्यु : दुई सातापछि परिवारले बुझ्यो शव

मोरङ कारागारका थुनुवाको मृत्यु : दुई सातापछि परिवारले बुझ्यो शव
सुन्नुहोस्

विराटनगर : विराटनगरस्थित जिल्ला कारागार मोरङका थुनुवाको मृत्यु भएको दुई सातापछि परिवारका सदस्यले शव बुझेर लगेका छन्। 

कोशी अस्पतालको शवगृहमा राखिएको मोरङको लेटाङ नगरपालिका-४ घर भएका ३७ वर्षीय केशरबहादुर भुजेलको शव परिवारलाई बुझाइएको कारागारका निमित्त जेलर तुलसीप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार कोशी अस्पतालमै पोस्टमार्टम गराएर अन्त्येष्टिका लागि परिवारलाई शव बुझाइएको हो। 

परिवारका सदस्यले शवको दाहसंस्कार गरिसकेका छन्। दाहसंस्कार स्थलसम्म शव पुर्‍याउन कारागारले सहयोग गरेको पौडेलले बताए। उनका अनुसार भुजेलको उपचारका क्रममा कोशी अस्पतालको आकस्मिक कक्षमा गत मंसिर २१ गते साँझ ५ बजेतिर मृत्यु भएको थियो। 

भुजेलको मृत्यु शंकास्पद रहेको भन्दै परिवारका सदस्यले शव बुझ्न मानिरहेका थिएनन्। कारागारभित्र चौकीदारको समूहले दिएको चरम यातनाका कारण उनको मृत्यु भएको परिवारको भनाइ थियो। रहस्यमय घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउनुपर्ने लगायतका माग परिवारका सदस्यले राखेका थिए। 

भुजेललाई कारागारभित्र कुटपिट गरेर मरणासन्न बनाएपछि उपचारका लागि अस्पताल ल्याइएको र मृत्यु भएको दाबी आफन्तले गर्दै आएका थिए। उनीहरुले टाउकोमा कुटपिट गरेको चोट र रगत देखिएको बताउँदै शव बुझ्न अस्वीकार गरेपछि शवलाई अस्पतालमै राखिएको थियो। 

स्थानीय प्रशासनले घटनाको छानबिनका लागि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको थियो। समितिको सदस्यमा कोशीका डा. मनोज ठाकुर, प्रहरी निरीक्षक हेमराज ओली र लेटाङ-४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ थिए। समितिलाई भुजेल मृत्यु प्रकरणको छानबिन गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्ने समय दिइएको छ।  

छानबिन समितिले मृतकको परिवारका सदस्य, मानव अधिकारकर्मी र जनप्रतिनिधि समेतको रहोवरमा कारागार प्रशासन, सुरक्षाकर्मी, कैदीबन्दी, चिकित्सक सबैसँग लिखित बयान लिइसकेको छ। समिति संयोजक एवं सहायक प्रजिअ साहले भुजेलको ‘मेडिकल हिस्ट्री’देखि घटनाका सम्बन्धमा थप बुझ्ने काम भइरहेको बताए। पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि छानबिन प्रतिवेदन बुझाइने उनको भनाइ छ। कारागार प्रशासनका अनुसार भुजेललाई पेट दुख्ने, सुख्खा खोकी लाग्ने र वान्ता हुने पुरानै समस्या थियो। 

विगतदेखि नै विभिन्न औषधि सेवन गरिरहेको निमित्त जेलर पौडेलले बताए। ‘स्वास्थ्यमा थप समस्या भएपछि दिउँसो उपचारका लागि लगियो हो। सामान्य अवस्थामै अस्पताल पुर्‍याइएको थियो,’ उनले भने, ‘चिकित्सकले पेटको ‘इन्डोस्कोपी’का लागि सिफारिस गरेको पाइयो। तर, अचानक मृत्यु भएको खबर आयो।’ त्यसको दुई दिनअघि पनि अस्पताल लगेर उपचार गरिएको पौडेलले बताए। 

स्वास्थ्य अवस्था जटिल रहेकाले थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान कारागार प्रशासनलाई अस्पतालले भनेको थियो। तर, थप उपचारका लागि लैजान नपाउँदै भुजेलको मृत्यु भएको कारागारले जनाएको छ। 

मृतकका भाइ नारायण भुजेलले दाजुको शव बुझेर दाहसंस्कार गरिसकिएको बताए। ‘पोस्टमार्टम गरेर रिपोर्ट नआइकन छानबिनको कुनै निष्कर्ष आउँदैन भनेर भनियो। छानबिन समितिले सत्यतथ्य पत्ता लगाउँछौं भनेर विश्वास दिलायो,’ उनले भने, ‘समितिकै आग्रहमा पोस्टमार्टम गरेर हामीले शव बुझेका हौं। घटनाको यथार्थ बाहिर आउँछभन्ने आशा छ।’ उनले कारागारभित्र चरम यातना दिएका कारण दाजुको मृत्यु भएको दाबी गरे। 

मृतक भुजेल जबरजस्ती करणी मुद्दाका थुनुवा थिए। गत कात्तिक ६ गते पक्राउ परेका उनलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलान गरेको थियो। मुद्दाको फैसला नहुँदै उनको मृत्यु भएको हो। मोरङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ। चौकीदारको समूहले कारागारभित्र कैदीबन्दीलाई कुटपिट गर्ने, चरम यातना दिने तथा असुली गर्ने गरेको घटना बारम्बार बाहिर आइरहेको छ। 

कैद भुक्तान गरेर छुटेका एक जनाले दिएको जानकारी अनुसार कारागारमा खानपिन गरेको हिसाब (बन्डा) १० दिन (१, ११ र २१ गते)भित्र नमिलाए चौकीदार र उनको समूहको निर्देशनमा नाइके, भाइनाइकेहरुले कैदीबन्दीलाई यातना दिने गरेका छन्। यातना तथा कुटपिटका कारण कतिपयको उपचारका लागि लैजाने क्रममा र कतिपयको कारागारभित्रै मृत्यु हुने गरेको उनले बताए। मोरङ कारागारभित्र हाल ९ सय ५१ पुरुष, ९१ महिला र ७ नाबालकसहित १ हजार ४९ जनालाई राखिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.