व्यवस्थाप्रतिको समदृष्टि
देशमा सुशासन कायम होस् र भयमुक्त वातावरणमा शान्तिसँग बाँच्न पाऊँ भन्ने आकांक्षा जनताको छ।
संसारमा आजसम्म त्यस्तो कुनै शासन व्यवस्था देखिएको छैन जुन इतिहासदेखिको प्रत्येक कालखण्डमा उत्तिकै प्रशंसा पाएको होस्। संसारमा आजसम्म त्यस्तो पनि शासन व्यवस्था देखिएको छैन, जुन हरेक कालखण्डमा केबल गलत ठहरियोस्। शासन व्यवस्थाले प्रशंसा पाउनु वा नपाउनु, सही वा गलत ठहरिनु केवल शासकको व्यवहार र कार्यशैलीले मात्र निर्धारण गर्दैन। बरु शासितको मनोविज्ञान र उक्त व्यवस्था निर्माणमा उनीहरूको स्वामित्व कति छ भन्नेमा पनि निर्भर गर्छ।
शासनको कुनै पनि प्रणाली वा स्वरूपको सफलता त्यतिखेर निश्चित हुन्छ, जतिखेर राज्यसत्ता र जनता बीचमा बलियो रासायनिक तादात्म्यताको निर्माण हुन्छ। यो त्यस्तो रासायनिक तादात्म्यता हो, जसमा जनताका भावना र चाहना राज्य प्रणालीले बुझ्न सकेको हुन्छ। जनताले नभनेरै पनि उनीहरूका गुनासाहरू राज्यले सुन्न सकेको हुन्छ। यसको अर्थ फेरि यो पनि होइन कि जनताका जस्तोसुकै र जतिसुकै चाहनाहरू राज्यले अनिवार्य पूरा गरोस्। तर आफ्नो क्षमताको सीमाभित्र रही राज्यले जनताको जीवनमा सकारात्मक परिवर्तन भने ल्याउनै पर्छ। यो निर्विकल्प सर्त हो।
प्राचीनकालदेखि आजसम्म यो देशका जनताले विभिन्न प्रकारका शासकीय ढाँचा देखे। त्यसबेलादेखि अहिलेसम्म अनेक शासकका शासन भोगे। नेपालीले जनताका भान्साबाट धुवाँ नउडेसम्म नखाने शासक पनि देखे अनि जनताका पधेंरोमा सुन्दर स्त्री देख्नेबित्तिकै सौतामाथि सौता थप्ने शासनकर्ता पनि देखे। नेपाली जनताले भुँडीभित्रै जर्नेल हुनेहरू पनि देखे अनि आफैंले तरबार उठाएर देशका लागि लड्ने शासक पनि देखे। श्री ३ का छायाँमा १०४ वर्षसम्म बाँच्न विवश श्री ५ हरू पनि यहाँका जनताले देखे अनि दललाई प्रतिबन्ध लगाएर आफ्नो सक्रिय शासन हाँक्ने श्री ५ पनि यहीकाले देखे।
राजनीतिका अनेक दाउपेच र चालबाजी अनि त्यसले निम्त्याएको सुप्रभाव र कुप्रभाव नेपाली जनताले देख्दै भोग्दै आए। तर विगतमा हामीसँगै लम्किएका वा हामीभन्दा कमजोर अवस्थामा रहेका राष्ट्रका जनताहरू आज विकास र समृद्धिको नवीनतम् अभ्यास गरिरहँदा हामी नेपालीको जीवनमा भने कहिल्यै पनि आशा गरे अनुरूपको परिवर्तन आउन सकेन। आवरणमा सुन्दर चित्र देखिने गरे पनि नेपाली जीवनका भित्री पानाहरू आज पनि गरिबी र दुःखले नै भरिएका छन्। आज पनि एउटा नेपालीले दुई छाक खान खाडीकै ताँतोमा पसिना पगाल्नु परेको छ।
राजनीतिका अनेक दाउपेच र चालबाजी अनि त्यसले निम्त्याएको सुप्रभाव र कुप्रभाव नेपाली जनताले देख्दै भोग्दै आए। तर पनि आशा गरे अनुरूपको परिवर्तन आउन सकेन।
एउटा पीडितले न्याय माग्न न्यायालय होइन कि माइतीघर मण्डलमा उभिएर चिच्याउनुपर्ने अवस्था छ। हामी जनताले आजसम्म केवल धोका सिवाय केही पाएनौं। कतिपटक हामीलाई व्यवस्थाले धोका दियो त कतिपटक व्यवस्था हाँक्ने नेतृत्वहरूले। पछिल्लो केही वर्षयता अन्तर्राष्ट्रिय अर्थ राजनीति र भू–राजनीतिमा शक्ति संघर्षलाई लिएर अत्यन्त जटिल परिस्थिति उत्पन्न भएको छ। चीन र भारतजस्तो दुई महाशक्ति राष्ट्रबीचमा अवस्थित भूपरिवेष्टित राष्ट्र नेपालको आजको राजनीतिमा यस परिस्थितिको प्रभाव नपर्ने कुरै भएन।
यस्तो संवेदनशील अवस्थामा दुई छिमेकीलगायत तेस्रो राष्ट्रहरूसँग समेत सन्तुलित सम्बन्ध राखेर अघि बढ्नु आफैंमा सजिलो पक्कै छैन। तर हाम्रो नेतृत्वले घरिघरि देखाउने गरेको अस्थिर र अपरिपक्व परराष्ट्र दृष्टिकोणले भोलिका दिनमा नेपालको अस्तित्व माथि नै संकट नआउला पनि भन्न सकिन्न। यी र यस्तै समस्याहरूले नेपाली जनतालाई बेलाबखत पिरोल्ने गरेको छ। नेपाल आज संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ। सैद्धान्तिक दृष्टिबाट हेर्दा यो एउटा उत्कृष्ट व्यवस्था हो भन्नेमा शंका नहोला। तर यही व्यवस्थामा नेपाली समाज विगतभन्दा बढी अनुशासनहीन र अराजक बन्दै गइरहेको छ।
लोकतन्त्रको हाँक दिँदै स्वतन्त्रताको अभ्यास गर्ने नाममा हाम्रो समाज जसले जे गरे पनि हुन्छ, जसो बोले पनि हुन्छ भन्ने भाष्य स्थापित गर्दै स्वच्छन्दतातर्फ उद्वेलित भइराखेको छ। यो स्वेच्छाचारिताले जनतालाई मात्र होइन, नेतृत्वलाई पनि छोएको छ। आफ्नो निजी स्वार्थका लागि शक्ति पृथकीकरणको सिद्धान्तमाथि बारम्बार आक्रमण हाम्रै नेतृत्वबाट भइराखेको छ। भ्रष्टाचार र दण्डहीनताले नेतृत्वबाटै प्रश्रय पाइराखेको छ। आम जनतामा चरम असन्तुष्टि र निराशा बढेको छ।
व्यवस्थालाई लिएर विश्वभरका अभ्यास हेर्दा कतिपय अवस्थामा पात्र र उसले देखाउने प्रवृत्तिका कारण व्यवस्थाले जस÷अपजस प्राप्त गर्ने वा व्यवस्थाको जग नै हल्लिएको छ भने कुनै अवस्थामा व्यवस्थाले नै पात्रलाई नियन्त्रण र सीमित गरिदिएको पनि छ। पछिल्लो केही समयदेखि नेपाली जनतामा देखिएको आक्रोश, माथि चर्चा गरिएको पात्र र तिनले देखाएको प्रवृत्तिको कारण पनि हुनसक्छ अथवा दुवै कारण पनि हुनसक्छ। खैर, कारण जेसुकै होस् तर जनतामा देखिएको यो आक्रोशले प्रणाली र प्रणाली हाँक्ने नेतृत्वमाथि प्रश्न भने उठ्छ नै।
इतिहासदेखि वर्तमानसम्म नेपाली जनता पटकपटक राष्ट्रहित र जनहितका लागि भन्दै लडे। आफ्ना आफन्त गुमाउँदा वा आफू स्वयम् अंगभंग हुँदासमेत हरेकपटक नेपालीले यो देश समृद्ध भएको र आफूसुखी भएको कल्पना गरे। आज पनि उनीहरूमा यो देशले आफ्ना जनताप्रतिको अभिभावकत्व बलियोसँग निभाइदियोस् भन्ने अपेक्षा छ। आफूलाई ठिंग उभिन गाह्रो भएको बेला अडेस लाग्ने अडेसा यो देशको सरकार भइदियोस् भन्ने चाहना छ। आफूलाई अन्याय पर्दा न्याय माग्न सडकमा चिच्याउनु नपरोस् भन्ने आशा छ। परिवार सबै वरिपरि बसेर दुई छाक देशमै खाना पाइयोस् भन्ने इच्छा छ।
देशमा सुशासन कायम होस् र भयमुक्त वातावरणमा शान्तिसँग बाँच्न पाउँ भन्ने आकांक्षा जनताको छ। यो देशका प्रत्येक जनता समान सम्मानका साथ जिउन सकून् भन्ने अभिलाषा छ। विश्वमञ्चमा आफ्नो पहिचानसहित शिर ठाडो पारेर यो देश उभिन सकोस् भन्ने कामना छ। आफू मरेर गए पनि यो देश सदा बाँचिरहोस् भन्ने अभीष्ट छ। के यत्तिका लागि नै हैन र जनता आज सडकमा चिच्याउनु परेको ?