संसदीय समितिले माग्यो पशुपति क्षेत्र विकास कोषमा नियुक्त कार्यकारी निर्देशकको कागजात
काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त भएका कार्यकारी निर्देशकको नियुक्तिसम्बन्धी कागजातहरू ३ दिनभित्र समितिमा पेस गर्न निर्देशन दिएको छ। बिहीबार बसेको समितिको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको हो।
बैठकले निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र, वैयक्तिक विवरणलगायत कागमाजत मागेको हो। सरकारले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा रुकुमकी लक्ष्मी पुनलाई नियुक्त गरेको थियो। पुनको योग्यतामाथि प्रश्न उठेपछि समितिले उनको कागजात मागेको हो।
त्यस्तै पशुपति क्षेत्र विकास कोषको गुरुयोजना यथाशक्य चाँडो पारित गरी कार्यान्वयनमा लैजान सरकार र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन भएको समितिका सभापति राज किशोर यादवले बताए। उनका अनुसार पशुपति क्षेत्र विकास कोषको नाममा रहेको सम्पूर्ण जग्गाको शीघ्र यकीन र हालसाविक गरी कोषको नाममा लालपूर्जा लिने व्यवस्था गर्न समितिले निर्देशन दिएको छ।
त्यस्तै पशुपति क्षेत्र विकास कोषले आनन्द होटल प्रालिसँग गरेको सम्झौताको विवरणसहितको विस्तृत जानकारी यस समितिलाई ३ दिनभित्र उपलब्ध गराउन निर्देशन दिइएको छ भने पशुपति आर्यघाटमा शवको चापको आधारमा विद्युतीय शवदाह गृहको संख्यामा बढोत्तरी गर्न आवश्यक व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशनसमेत दिइएको छ।