हेटौंडा : आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि बागमती प्रदेशअन्तर्गत नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ । हेटौंडामा रहेको प्रदेश निर्वाचन कार्यालयमा एमालेको तर्फबाट चारजना उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।
एमालेबाट महिलातर्फ रोजकुमारी चौलागाईं ,अन्यमा त्रिलोचन निर्मल पौडेल,अपाङ्ग तर्फ विवेक देवकोटा तथा दलिततर्फ ध्रुवराज विकले उम्मेदवारी दर्ता गरेका हुन् । यस्तै नेपाल मजदुर किसान पार्टीले (नेमकिपा) ले पनि उम्मेदवारी दर्ता गरेको छ।
नेमकिपाको तर्फबाट अपाङ्गता क्लस्टरबाट भक्तपुरका हिमालयश्वर मुल,अन्य तर्फबाट काठमाडौंका श्रिकृष्ण महर्जन , दलित तर्फबाट भक्तपुरका संगिता नेपाली र महिलातर्फबाट कृष्णलक्ष्मि दुवालले उम्मेदवारी दर्ता गराएका हुन्।
यहि फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ। जसमा बागमती प्रदेशमा चार सिटका लागि निर्वाचन हुँदैछ। बागमतीबाट पदावधि सकिने सांसदाहरुमा स्वतन्त्रबाट खिमलाल देवकोटा, एमालेबाट रामचन्द्र राई, दिल कुमारी रावल थापा ‘पार्वती’, र एकीकृत समाजवादीबाट सिंग बहादुर विश्वकर्मा रहेका छन् ।
सत्तागठबन्धनको तर्फबाट भने केही समयमा उम्मेदवारी दर्ता हुने बताइएको छ । बागमती प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ११० मतदाता छन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाताको संख्या २३७ छ । दुवैमा गरी बागमतीमा ३४७ जना मतदाता छन् ।
प्रदेश सभा सदस्यको मतभार ५८३० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४५०३ छ । जसको जम्मा मतभार १०३३३ रहेको छ ।