मुस्ताङ अस्पताल भवन निर्माण सुस्त
जोमसोम : मुस्ताङ अस्पतालको भवन निर्माण कार्य सुस्त भएको छ। २०७७ सालदेखि निर्माण सुरु भएको भवनको हालसम्म ५५ प्रतिशत भौतिक प्रगति भएको छ।
गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको लगानीमा २०७७ चैत २२ गते भवनको शिलान्यास भएको थियो। ईमोटल कन्टक्सनले १२ करोड लागतमा भवन निर्माण गरिरहेको छ।
भवन निर्माणपश्चात अस्पताल २५ शय्याको हुने छ। सम्झौता अनुसार २०७९ चैत्र २१ गते भवन निर्माणको काम सकिनुपर्ने भए पनि हालसम्म ५५ प्रतिशत भौतिक प्रगति भएको अस्पतालका निमित्त कार्यालय प्रमुख भोजराज रेग्मीले जानकारी दिए। निर्माण कम्पनीले अस्पताल भवनको कामबाट गत आर्थिक वर्षको माघसम्म ५ करोड भुक्तानी लगिसकेको उनले बताए।