टीकापुरको माष्टर प्लान बनाएका रिमाल सम्मानित
टीकापुर : नेपालकै एक व्यवस्थित सहरका रुपमा चिनिएको टीकापुरका डिजाइनर वरिष्ठ इञ्जिनियर शंकरनाथ रिमाल सम्मानित भएका छन् । टीकापुर महोत्सव २०८० को उद्घाटनका अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले वरिष्ठ इञ्जिनियर रिमाललाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन् ।
तत्कालीन टीकापुर विकास समितिले टीकापुरको मास्टर प्लान बनाउने जिम्मा पाएका रिमालले व्यवस्थित सहरका रुपमा टीकापुरको नक्शांकन गरेका थिए । उनी वि.सं. १९९१ मा माता सीतादेवी र पीता देवेन्द्रनाथका जेष्ठ पुत्रका रुपमा काठमाडौंको टंगालमा जन्मिएका हुन् ।
उनी इन्जिनियर मात्रै नभइ बहुप्रतिभा भएका व्यक्ति हुन् । उनी वास्तुकलाविद, चित्रकलाकारका रुपमा समेत चिनिन्छन् । उनले टीकापुर शहरको नक्शाङ्कन मात्रै हैन काठमाण्डौंको शहिदगेट, पशुपतिको पुनःनिर्मित उनमत्त भैरव मन्दिर,प्रज्ञा प्रतिष्ठान भवन,सोल्टी होटल, तारागाउँ,एभरेष्ट होटल,जनकपुरको रामानन्द गेट,हरिवन सर्लाहीको चतुर्भुजेश्वर मन्दिर र लुम्बिनी क्षेत्रका विभिन्न स्मारकको नक्शाङ्कन गरेका छन ।
उनले स्याङ्जाको साल्मेडाँडामा १८ जाति एउटै थलोमा उभिएको एक अनुपम जातीय एकताको स्तम्भ ‘गोरखा स्मारक’ को डिजाइन समेत गरेका छन् । यति मात्रै नभइ उनले नारायणहिटीको मंगल सदन, नानीगञ्ज र दरवार परिसरको समेत नक्शाङ्कन गरेका हुन् । उनले नै नेपालको राष्ट्रिय झण्डाको डिजाइन गरेका थिए । नेपालको राष्ट्रिय झण्डा विश्वमै मौलिकताको एक जीवन्त नमूना हो ।
उनले दरवार स्कुलबाट शिक्षा आरम्भ गरेर भारतको कलकत्ता विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक गरेका छन् । उनले जर्मनीबाट विशेष तालिम समेत हाँसिल गरेका छन् । उनी वि.सं. २०१४ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए ।
उनी राष्ट्रिय योजना आयोगको सदस्य समेत भइसकेका छन् । 'चार पाँच जना बसेर टीकापुरको योजना कोरेका थियौं, आज विशाल टीकापुर बनेको देख्दा निकै खुशी लागेको छ,' सम्मान ग्रहण गर्दै रिमालले भने ,'नेपालकै व्यवस्थित शहरका रुपमा विकसित भइरहेको टीकापुरले अन्य शहरहरुलाई समेत योजना बनाउन टेवा पुर्याउनेछ,यहाँका फराकिला बाटाहरु, सार्वजनिक स्थलहरु आदि सबै देशकै लागि नमूना योग्य छन् ।’
टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य ललिता सुनार,पूर्वअध्यक्ष नवराज रावल, वरिष्ठ उपाध्यक्ष सन्तोष खड्कालगायतले आ-आफ्नो भनाइ राखेका थिए।