मोरङको धनपालथानमा प्रांगारिक मल तथा वायोग्यास उद्योग सञ्चालन, लागत १० करोड
विराटनगर : मोरङको धनपालथान गाउँपालिका–३ डकुवाडाँगामा प्रांगारिक मल तथा वायोग्यास उद्योग सञ्चालनमा ल्याइएको छ।
प्रांगारिक मलसँगै वायोग्यास उत्पादन गर्ने उद्योग गैर नाफामूलक संस्था जीवन विकास समाजले १० करोड लागतमा सञ्चालनमा ल्याएको हो। उद्योग १० बिघा क्षेत्रफलमा फैलिएको छ। समाजका संस्थापक अध्यक्ष एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डल र कोशी प्रदेशका प्रदेशसभा सदस्य गयानन्द मण्डलले शुक्रबार संयुक्त रूपमा उद्योगको उद्घाटन गरे।
सो अवसरमा किसानले उत्पादन गरेको दूध संकलनका लागि ‘जीवन विकास डेरी दूध संकलन केन्द्र’को पनि उद्घाटन गरिएको थियो। संघीय सांसद मण्डलले रासायनिक मललाई प्रतिस्थापन गर्ने अभियान अनुरूप प्रांगारिक मल उद्योग स्थापना गरेर सञ्चालनमा ल्याइएको जानकारी दिए। ‘स्वदेशमा नै उत्पादन हुने प्रांगारिक मलले नेपाली किसानले भोग्दै आएको रासायनिक मलको हाहाकारलाई कम गर्छ,’ उनले भने, ‘प्रांगारिक मलले माटोको उर्वराशक्ति पनि बढाउँछ।’
मुलुकमा यो वर्ष ८ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने बताउँदै प्रतिनिसभा सदस्य मण्डलले ४ लाख टन ल्याउँदा ३३ अर्ब खर्च भइसकको उल्लेख गरे। ‘रासायनिक मल आयात गर्नुपर्ने समस्याको दीर्घकालीन समाधान सोचिएन भने खाद्यान्न बिना नै बस्नुपर्ने अवस्था आउन सक्छ। किसानसँग पैसा भएर पनि मल खरिद गर्न पाउँदैनन्,’ उनले भने, ‘मल अभाव हुँदा किसानहरुले उत्पादन गर्न सक्दैनन्। रासायनिक मलले माटोको उर्वराशक्तिमा ह्राससमेत ल्याउँछ।’
उनले युरिया, डीएपीजस्ता रासायनिक मलको विकल्पको रूपमा प्रांगारिक मल प्रयोगमा ल्याउनुपर्ने पनि बताए। ‘प्रांगारिक मल प्रयोग गर्नेतर्फ किसानलाई सरकारले प्रोत्साहन गर्नुपर्छ। रासायनिक मलको विकल्प सोच्नुपर्छ,’ मण्डल भन्छन्, ‘भारतको सिक्किममा पनि रासायनिक मल निषेध भइसक्यो। परीक्षणस्वरूप प्रांगारिक मल हालेर खेती गर्दा रासायनिक मल प्रयोग गरे बराबरकै धान फल्यो।’
उनका अनुसार यसअघि प्रांगारिक मल प्रयोग गरेर तीन ठाउँमा धान बाली लगाइएको थियो। प्रांगारिक मल प्रयोग गर्दा बालीनालीमा रोग पनि नलाग्ने गरेको मण्डको भनाइ छ। उनका अनुसार राज्यले योजना बनाउने हो भने ३ वर्षभित्रमा नेपाललाई रासायनिक मलमुक्त गर्न सकिन्छ। ‘युरिया र डीएपी खरिदका लागि छुट्याइएको बजेट बराबरको लगानी गरेमा ३ वर्षभित्र पर्याप्त प्रांगारिक मल उत्पादन गर्न सकिन्छ। उत्पादन लागत पनि सस्तो पर्छ,’ उनले भने, ‘प्रभावकारिता रासायनिक मल बराबरको छ। अरु धेरै फाइदाहरु छन्।’ मण्डलका अनुसार प्रांगारिक मल रासायनिकभन्दा सस्तो पर्ने भएकाले किसानलाई धेरै राहत पुग्छ।
कोशीका प्रदेशसभा सदस्य गयानन्द मण्डलले प्रांगारिक मलको प्रयोगका लागि राज्यले किसानलाई प्रोत्साहन गर्नुपर्ने बताए। ‘मल उत्पादन गर्ने उद्योग स्थापनामा सरकारले सहयोग गर्नुपर्छ,’ उनले भने, ‘प्रांगारिक मल प्रयोगमा किसानलाई प्रोत्साहन गर्नुपर्छ।’ प्रांगारिक मलको प्रयोग बढाएर मुलुकलाई रासायनिक मलमुक्त गर्नुपर्ने प्रदेश सांसद मण्डलको भनाइ छ।
जीवन विकासले १० करोड लागतमा स्थापना गरेको उद्योगको दैनिक ८ मेट्रिक टन प्रांगारिक मल र १५० सिलिन्डर वायोग्यास उत्पादन गर्ने क्षमता छ। उद्योगका प्रमुख उपेन्द्रकुमार मण्डलले वायोग्यासभन्दा पनि मल उत्पादनलाई उद्योगले प्राथमिकतामा राखेको जानकारी दिए। उनका अनुसार ४० टन कच्चा पदार्थ प्रयोग गर्दा ८ टन प्रांगारिक मल र १५० सिलिन्डर वायोग्यास उत्पादन हुन्छ।
प्रमुख मण्डलले ३ हजार घनमिटरको डाइजेस्ट उद्योगबाट प्रांगारिक मलसँगै वायोग्यास पनि उत्पादन भइरहेको जानकारी दिए। त्यहाँबाट उत्पादित वायोग्यास विराटनगरका दुईवटा डेरीले प्रयोग गर्छन्। मण्डलका अनुसार हाल दैनिक ६ किलो दरका ३० वटा सिलिन्डर ग्यास उत्पादन भइरहेको छ। कार्बन उत्सर्जन कम गर्ने अभियानअन्तर्गत उत्पादन सुरु गरिएको वायोग्यास एलपीजी ग्यासभन्दा निक्कै सस्तो पर्ने उनको भनाइ छ।
ग्यास र मल उत्पादनका लागि उद्योगले किसानबाट गोबर तथा अन्य कच्चा पदार्थ खरिद गरिरहेको छ। मण्डलका अनुसार उद्योगका लागि विराटनगर र आसपासमा रहेका गाई भैँसीको फार्मबाट गोबर संकलन गर्ने काम भइरहेको छ। संकलन भएको गोबरसहितका कच्चा पदार्थबाट उत्पादित ग्यासलाई पाइपलाइनबाट ‘प्यूरीफिकेसन’ गर्दै स्वचालित ‘कम्प्रेसर मेसिन’बाट सिलिन्डरमा भर्ने गरिएको उनको भनाइ छ।
उनका अनुसार उत्पादित ग्यास जीवन विकास डेरी र दूधवाला डेरी फार्मले प्रयोग गरिरहेका छन्।
वायोग्यासको प्रयोगसँगै ती उद्योगले एलपीजी ग्यास र दाउरा प्रयोग गर्न छाडेको जानकारी मण्डलले दिए। दूधवाला डेरीका सञ्चालक बिक्की अग्रवालले एलपीजी ग्यासको तुलनामा वायोग्यास निकै सस्तो र प्रभावकारी भएकाले उत्पादन लागत कम परेको बताए। ‘एलपीजीभन्दा सस्तो छ। प्रभावकारिता उस्तै छ,’ उनले भने, ‘साना तथा मझौला उद्योगका लागि प्रभावकारी भयो। सिलिन्डर अलि सानो हुने हो भने घरका लागि पनि प्रयोग गर्न सकिन्छ।’
जीवन विकास डेरी उद्योगका प्रमुख विजय मण्डलका अनुसार वायोग्यासको प्रयोगले उत्पादन लागत घटाएको छ। प्रयोग गर्न पनि सहज भएको उनको अनुभव छ। ‘पहिला हामी दाउरा प्रयोग गर्थ्यौं। जसका लागि कामदार छुट्टै चाहिन्थ्यो,’ मण्डल भन्छन्, ‘वायोग्यास जोडेपछि ‘लेबर कष्ट’ जोगियो। काम गर्न पनि सजिलो भयो।’ उनका अनुसार ग्यास प्रयोगले दूध तताउन छिटो भयो भने वातावरण धुवाँरहित भयो।