कर्तव्य ज्यान मुद्दामा फरार रहेका २ जना १७ वर्षपछि पक्राउ
हेटौंडा : मकवानपुरमा कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत मकवानपुरबाट २० वर्ष कैद सजाय पाएर फरार रहेका मोटे स्याङ्तान भन्ने रामचन्द्र स्याङ्तान र सार्की माइला भन्ने कालु गोलेलाई आइतबार मकवानपुर प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले २०६३ जेठ १९ गते साबिकको टिस्टुङ गाविस वडा नम्बर ४ अर्थात् हालको थाहा नगरपालिका- १२ गैरीगाउँमा ७२ वर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेका थिए।
यस्तै उनीहरूलाई जिल्ला अदालत मकवानपुरले २०६७ असोज ८ गते २० वर्षको कैद गर्ने फैसला सुनाएको थियो। हत्या गरी फरार रहेका उनीहरूलाई प्रहरीले आज मकवानपुरकै थाहा नगरपालिका-१२ गैरीगाउँबाट पक्राउ गरी आजै अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।