रुपन्देहीको तिलोत्तमालाई एडीबीको तीन अर्ब
बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई एशियाली विकास बैंक (एडीबी) ले तीन अर्ब २५ करोड रुपैयाँ अनुदान र सहुलियत ऋण दिने भएको छ । नगरपालिका र एडीबीबीच उक्त रकम बराबरको योजना सञ्चालनका लागि सम्झौता गरिएको छ ।
नगरप्रमुख रामकृष्ण खाण,प्रमुख प्रशासकीय अधिृकत नारायण अर्याल,अर्थ मन्त्रालयका सचिव डा.कृष्ण हरि पुस्कर र एडीबीका ‘कन्ट्री डाइरेक्टर’ अर्नाउड कौकोइसबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
एडीबीबाट प्राप्त बजेटबाट ‘अर्बन रेजिलेन्स लाइभ्लीहुड इम्प्रुभमेन्ट परियोजना’ अन्तर्गत ठूला चारवटा योजना सञ्चालन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए ।
तिलोत्तमाको वडा नम्बर १७ मा पाँच विगाह क्षेत्रफल जग्गामा बहुउद्देश्यीय सुविधायुक्त र आधुनिक चिस्यान केन्द्र,पथ्थरडाँडा–तिनाउँ सडक, ड्राइभरटोल–शिवपुर सडक र मधौलिया बिहुली बरौलियाडाँडाहुँदै चिस्यान केन्द्र जोड्ने सडक निर्माण गरिने अर्यालले जानकारी गराए ।