लोकसेवाका सात परीक्षामा नाम निकाल्न सफल सगुन भन्छिन्- इच्छा र लगाव भए असम्भव केही छैन
मुगु : नेपालमा पढेर काम छैन भन्नेहरुका लागि अब्बल साबित गरेकी छन् छायानाथ रारा नगरपालिका-१ की सगुना परियारले । कडा मेहनत र लगनशिलताले एक वर्षमा लोक सेवा आयोगले लिएको परीक्षामा सात पटक नाम निकाल्न सफल भएकी छन्।
छायाँनाथ रारा नगरपालिका–१, छत्यालवाडा गाउँकी २५ वर्षीया सगुनाले एक वर्षमा लोकसेवा आयोगले लिएका ७ पदमा नाम निकाल्न सफल भएकी हुन् । हालै संघीय लोकसेवा आयोगको कार्यालय दिपायलले सार्वजनिक गरेको स्टाफ नर्सको नतिजा नाम निस्केसँगै सगुनाले एकै वर्षमा ७ वटा लोकसेवाका परीक्षामा उत्तीर्ण हुन सफल भएकी हुन् ।
उनले गत वर्ष लोकसेवा आयोग लुम्बिनीले लिएको प्रदेश निजामति सेवातर्फ अनमी,स्थानीय सेवातर्फ अनमी,कर्णाली प्रदेश अनमी र पब्लिक हेल्थतर्फ नर्सिङ,कोशी प्रदेश अनमी,संघीय लोकसेवा आयोग दिपायलबाट स्टाफ नर्स र निजामती कर्मचारी अस्पतालमा नाम निकालेकी थिइन ।
दुर्गम ठाउँ । सञ्चारको असुविधाका कारण नर्सिङ कहाँ पढाइ हुन्छ ? कहिले भर्ना खुल्छ ? कहिले प्रवेश परीक्षा हुन्छ ? भन्ने समेत भेउ हुँदैन। दुर्गम जिल्ला,गरिब तथा दलित परिवार अझ छोरी मान्छेलाई नर्सिङ पेशासम्मको यात्रा उनका लागि सहज थिएन ।
सानैदेखि नर्स बन्ने सपना बुनेकी उनी पढाइमा अब्बल नै थिइन् । परिवारको पूर्णसाथ पाएकी उनले जसोतसो महेन्द्रनगरमा पीसीएल नर्सिङमा भर्ना खुलेको थाहा पाइन् । समयमै भर्ना खुलेको थाहा नपाएपछि एक वर्ष पछि सगुनाले छात्रवृत्तिमा नाम निकाल्न सफल भइन् ।
सेती महाकाली नर्सिङ क्याम्पसबाट २०७५ सालमा उत्कृष्ट नम्बरमा नर्सिङ पास गरिन् । पास भएलगत्तै उनी स्वास्थ्य सेवा कार्यालय मुगुमा २ वर्ष करार सेवामा काम गरिन् । नर्सिङ पास भएलगत्तै लोकसेवा आयोगको तयारी गर्ने सोचमा उनी थिइन् तर,कोरोना महामारीका कारण त्यो संभव भएन।
कोरोना महामारीकै दौरानमा लोकसेवाले अनमी र जनस्वास्थ्यमा दरबन्दी खुलायो । त्यसपछि उनी लोकसेवाको तयारी गर्न जागिर छोडेर काठमाडौं हानिइन्। काठमाडौंमा एक महिनाजति तयारी गरेपछि पुनः कोरोनाको दोस्रो लहरले उनको तयारी बीचमै रोकियो ।
त्यसपछि उनले ३ महिनासम्म अनलाइन कक्षा लिएर संघीय,प्रादेशिक र स्थानीय तहमा लोकसेवाले खुलाएको ७ पदमा परीक्षा दिइन् । परीक्षा दिएर बसेकी उनी सुशील कोइराला क्यान्सर अस्पताल नेपालगन्जमा करारमा काम गर्न थालिन् ।
त्यसपछि लोकसेवा आयोगले नतिजा सार्वजनिक गर्न थाल्यो । पहिलोपल्ट कर्णाली प्रदेशले लिएको अनमी र जनस्वास्थ्यतर्फ नर्सिङ पदमा नाम निस्कियो । उनले अनमी छाडेर जनस्वास्थ्यतर्फ नर्सिङ सेवा रोजिन् । अन्तर्वार्तामा सफल भएर उनी गत मंसिर ८ गतेदेखि दैलेखको दुल्लु नगरपालिकामा पब्लिक हेल्थ नर्सका रुपमा कार्यरत छिन् ।
आफूभित्र भएको इच्छा र चाहानाअनुसार निरन्तर मेहनत गरे सफलता सहजै प्राप्त गर्न सकिने सगुनाले बताइन्। ‘आफूभित्र चाहना,इच्छा र त्यहीअनुसार दृढता र लगाव भयो भने असम्भव भन्ने केही छैन, अवसरका लागि विदेशिनु पर्दैन,विदेश जाने सबैले अवसर नै नपाएर भन्दा पनि आकर्षक तलब सुविधाले पनि होला,’उनले भनिन् ।
नेपालमा नर्सहरूले जागिर नै पाउँदैनन्,उनीहरूको भविष्य नेपालमा छैन भन्ने भाष्य गलत रहेको बताउँछिन् सगुना । हरेक ठाउँमा जागिर खानलाई आफ्ना मान्छे चाहिने,भनेको सेवा सुविधा नहुने जस्ता परिस्थितिले कतिपयलाई विदेशिनु पर्ने बाध्यता पनि हुनसक्ने उनको बुझाइ छ ।