स्वस्थानी कथाको सन्देश

स्वस्थानी कथाको सन्देश

पुस शुक्ल पूर्णिमादेखि घरघरमा पढिन्छ, स्वस्थानी कथा। स्वस्थानी कथाले नेपालीहरूको व्यथा पनि उजागर गरेको छ। हरेक वर्ष पुस शुक्लपूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म स्वस्थानी व्रतकथा श्रवण गरिँदैछ। विशेषगरी माघ, फागुन महिनामा सतीदेवी र महादेव अनि पार्वतीको कथा बोकेको स्वस्थानी व्रतकथाको चर्चा हुन्छ।

स्वस्थानीको मेला काठमाडौं उत्तरपूर्वी भागको साँखु सहर छेवैमा लाग्ने गर्छ। स्वस्थानीमा सतीदेवीले आफ्नो दोस्रो जीवन पार्वतीका रूपमा हिमालय र पत्नी मेनकाका कोखबाट जन्मिएर शिवलाई पतिका रूपमा पाउन गरेको व्रतको कथा छ। स्वस्थानी व्रतका कारण गौरीघाट र शालिनदी क्षेत्रले सर्वत्र चर्चा पाएको छ। 

‘स्वस्थानी’को मूल पात्र गोमाको बिहे सानै उमेरमा शिव शर्मासँग भएको थियो। उनी गर्भवती हुँदा घरमा खानाको अभावले पति परदेसिएका थिए। सन्तानको लालनपालनका लागि घर खर्च जुटाउन विदेश गएका शिव शर्माको उतै मृत्यु हुन्छ। गोमाले छोरो पाएर जसोतसो हुर्काउँछिन्। छोरो नवराज खेल्न जाँदा छिमेकीले घोचपेच गर्छन्। भन्छन् ‘बिना बाबुको छोरो।’ पीडाले नवराज बाबु खोज्दै बिदेसिन्छन्। मरेका बाबुको हाडखोड पत्ता लगाई अन्तिम संस्कार गरी खर्चको जोहो गर्दै आमा भेट्न आइपुग्छन्। बेचैनीमा रहेकी गोमा स्वस्थानी गुहार्दै माघ मासको व्रत गर्छिन्,। छोरो एक्लै फर्केको देखी आमा पति विरहमा हुन्छिन्, सम्हालिएर छोरालाई पौरख गर्ने आशीर्वाद दिन्छिन्।

स्वस्थानीका पात्रहरू सबैजसो अभावमा जिएका छन्, वियोगको सागरमा छन्, हो त्यो पीडा अहिले पनि उस्तै छ। स्वस्थानीका पात्रहरूले पछिल्लो जीवन सुखमा बिताएको प्रसंग पनि छ। अभावै—अभावबीच दुःख पाएको नवराजले पछि रोजगारीमात्रै होइन ठूलो सम्मान पाउँछन्, तर नवराज पत्नी रानी भएको जोसमा होस गुमाउँछिन्। र शालिनदीका किनारामा ठूलै कष्ट पाउँछिन्। स्वस्थानी सत्ययुगको कथा हो, तर खोलाहरूमा धेरै पानी बगे, परिवेश उही छ हाम्रो, उही अशिक्षा, उही भोक, बढी रोग, हामी अल्प विकसित र श्रम बेचिएको पैसाले धानिएको अर्थतन्त्रमा। 

चन्द्रवतीलाई ल्याइएको झोलाको भातभन्दा परिवेश के फरक भयो त ? बाली भित्र्याउन नपाई प्रकृतिले उडाएर लगेको अवस्था। हाम्रो देश धर्मको देश हो, मूर्तिमा सुनको जलप लगाएर पदाधिकारीलाई जेल पठाउने, तर मन्दिर बाहिर भोको व्यक्ति नदेख्ने संस्कृति छ। उच्च सुरक्षाको घेरामा, विलासी गाडी र सरकारी उपचारमा रहनेहरू एक पटक साँखु पुगेर चन्द्रावती हेर्नु बेस होला। त्यहाँसम्म पुग्न सकिन्न भने गौरीघाटमा पार्वतीले व्रत गरेको प्रदूषित वागमतीको चित्कार सुनौं। 

हो, देशमा आज पनि बेरोजगारी छ र गरिबी पनि। अहिले उही समस्या छ, खाडीमा गएर बाकसमा लास फर्केको स्थिति, देशमा। देशको अर्थतन्त्र पूरै विप्रेषणमा छ,, ऋणमै छ, उत्पादन छैन, मूल व्यवसाय खेतीमै समस्या छ, भर्खरै धान यसपालि बढी उत्पादन भयो भनियो, तर यतिबेला घट्नुपर्ने धानको मोल बढेको छ। बिमा भन्यो सरकारले यही माघ १ देखि सहतिरोको नाममा १० प्रतिशत फेरि असुल्ने भएको छ।

पछिल्लो दाङ र चित्लाङ दुर्घटनाले हाम्रो विकास आयोजना र पूर्वाधार कस्ता छन् भन्ने देखाउँछ र मेलम्ची आठ पल्टसम्म उद्घाटन भइरहेकाले पनि स्थिति यथार्थ देखिन्छ। उर्वरभूमि प्लटिङमा छ, रासायनिक मलको हाहाकार छ, खाना, नानाका लागि बिदेसिनु पर्ने बाध्यता छ। स्वस्थानीमा उद्योगको चर्चा छ। ऊन, राडी, पाखी घरेलु कामको संकेत छ, तर आज पनि त्यही विषय हाम्रो लागि भार छ। भन्सार राजस्वले देशको राजनैतिक संयन्त्र चलेको छ।

सुगौली सन्धिपछि साहित्यको रस वीर रसबाट एकाएक भक्ति रसमा परिणत भई भानुभक्तीय रामायणको चर्चा हुन्छ घरघरमा। भाषा, धर्म, संस्कृतिमा औपनिवेशिकता, एक महिनामा ४ थान गोली ४० लाखमा बिक्री र सहिदको अपमान, यसै सेरोफेरोमा देशले समाजवादको खोक्रो नारा लिएको, आत्मरतिमा अल्झिएको छ। संविधानमा सबै मौलिक हक, शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, अपांग, दलित, निमुखा, असहाय, महिला, ज्येष्ठ नागरिक, स्वच्छ हावाको पनि चर्चा छ,तर यी सबै खोज्न सकिने अवस्था छैन। हाम्रा नेपालीहरूको मिठो खाने, राम्रो लाउने सपना अधुरो छ र त दिनदिनै पासपोर्ट बनाउने भीड छ। वृद्धहरू बेसहार, गाई, गोठ रित्तै छन्, सहरमा, मेलम्ची होइन विदेशी मिनरल वाटर, ह्विस्की, डिउ, कोक, फ्यान्टा, जंंकफुड, फास्टफुडले स्वास्थ्य कुरूप बन्छ। युवा पुस्ता बेमौसमको राजनीतिमा, व्यसन र दुव्र्यसनीमा फसेको छ। स्वस्थानीको शाब्दिक अर्थ हुन्छ स्वस्व स्थानमा बसेर आफ्नो कर्तव्य, जिम्मेवारी पूरा गर्नु पर्ने। 

सत्यको अर्थ सत्य नै हुन्छ, निष्ठा र इमान्दारिता बिर्संदा, रानीको सोखले आफन्तको मोहमा पर्दा चन्द्रावतीलाई असह्य वेदना सहनु परेको छ, रानी बन्दा पनि खान नपाएर अरूले ल्याइदिएको बासी भात खान लाग्दा खरानी भएको र त्यो पनि खान खोज्दा हावाले उडाएर लगेको, धरधरी रुनु परेको अवस्था छ। हेर्दा कथा जस्तो लाग्छ तर मर्म आजकै हो। आज पनि बाली लगाउने असारमा प्रकृतिको वितण्डा । बाली उठाउने मंसिरमा उही समस्या छ। विगत पाँच वर्षमा सबैभन्दा कम धान बालीको उत्पादन गत वर्ष भयो, यसपालिको तथ्यांकमा मिसावट भयो भनिँदैछ। ६० लाख मे.टन धानको उत्पादनको लक्ष्य लिँदा जम्मा ५१ लाख मे.टनमा चित्त बुझाउनु परेको यादै छ। खाने मुख बढ्ने उत्पादन घट्ने हाम्रो नियति हो र त देशमा व्यापार घाटा चुलिँदै छ,। र त महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने ‘सुनका थैला हातका मैला के गर्नु धनले, साग र सिस्नो खाएर बस्नु आनन्दी मनले’।

राजनीतिको रडाकोले देश कामिरहेको छ। राष्ट्रियसभाको चरित्र पनि उदांगो भएको छ। अहिले, माटो छोप्ने डोजरे र असारे विकासले गलिरहेको छ देश। समाजवादको नाराले पेट भरिएन, स्वास्थ्य सुविधा भएन, प्रसूति गृहदेखि आर्यघाटसम्म तिरेको करको सदुपयोग भएन। वर्षैपिच्छे स्वस्थानीको सन्देश पनि छ, त्यो सन्देशको मनन् गर्नुपर्छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.