राष्ट्रियसभा निर्वाचन : कांग्रेसको कार्यक्रममा सहभागी भएका गाउँपालिका अध्यक्ष बेहोस भएर ढले

राष्ट्रियसभा निर्वाचन : कांग्रेसको कार्यक्रममा सहभागी भएका गाउँपालिका अध्यक्ष बेहोस भएर ढले
मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु।
सुन्नुहोस्

विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु बेहोस भएर ढलेका छन्। राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्ट्रन स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका उनी बुधबार साँझ ७:१० बजेतिर बेहोस भएर ढलेका थिए। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईका अनुसार होटलमा खाना खाने बेलामा थारु अचानक बेहोस भएपछि उपचारका लागि पारस अस्पताल लगिएको थियो। वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी विजय श्रेष्ठ नेतृत्वको टोलीले उद्धार गरेर उनलाई अस्पताल पुर्‍याएको हो। त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको छ। 

नोबेलको भेन्टिलेटरमा राखेर गाउँपालिका अध्यक्ष थारुको थप उपचार भइरहेको र अझैसम्म अचेत अवस्थामै रहेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए। उनका अनुसार अवस्था गम्भीर रहेको जानकारी अस्पतालले दिएको छ। 

उपचारमा संलग्न चिकित्सकले थारुलाई उच्च रक्तचापका कारण समस्या भएको हुनसक्ने अनुमान गरेका छन्। उनको टाउकोमा रगत जमेको र शल्यक्रिया गर्नुपर्ने अवस्था आउनसक्ने जानकारी अस्पतालले परिवारलाई गराएको छ। राष्ट्रियसभा निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ। स्थानीय तहका प्रमुख एवं उपप्रमुख पनि निर्वाचनका मतदाता हुन्। बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। 

ग्रामथान–४ घर भएका थारु नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। कोशी प्रदेशमा अन्य र महिला गरेर दुई सिटका लागि निर्वाचन हुँदैछ। सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनका उम्मेदवार चुनावी मैदानमा छन्। गठबन्धनले अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ। एमाले–राप्रपा गठबन्धनबाट अन्यतर्फ राप्रपाका उद्धव पौडेल र महिलातर्फ एमालेकी रुक्मिणी कोइराला उम्मेदवार छन्। तर, बेहोस भएर उपचाररत अवस्थामा रहेका गाउँपालिका अध्यक्ष थारु मतदानमा सहभागीहुने सम्भावना कम रहेको छ।

कोशीमा राष्ट्रियसभाका लागि ३ सय ६७ जना मतदाता छन्। कोशीमा प्रदेशसभा सदस्य ९३ जना छन्। प्रदेशसभा सदस्यको मतभार ५३ कायम गरिएको छ। कोशीका १ सय ३७ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर २ सय ७४ जनाले राष्ट्रियसभा निर्वाचनमा भाग लिन पाउँछन्। पालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ। 

कोशीको १० हजार १ सय ३५ कूल मतभारमध्ये प्रदेश र स्थानीय तह गरेर स्वतन्त्रबाहेक सत्तारुढ गठबन्धनसँग ५ हजार ४ सय ३६ तथा एमाले–राप्रपासँग ४ हजार ६ सय ४२ मतभार हुन्छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीले मतदान गर्न कुनै कारणले मतदाता आउन नसकेमा अनुपस्थित भएको मानिने बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.