चोरी नियन्त्रण गर्न कडा कानुन आवश्यक छ : डीआईजी खापुङ
विराटनगर : कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले विभिन्न अपराधमध्ये चोरी नियन्त्रण गर्न निक्कै चुनौतीपूर्ण रहेको बताएका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पहिलोपटक सोमबार पत्रकार सम्मेलन गर्दै उनले दुई देशीय खुला सीमा भएका स्थानमा चोरीका घटना धेरै हुने गरेको उल्लेख गरे। ‘समाजमा हुने धेरै अपराधमध्ये चोरी एउटा हो। पछौटे समाजमा चोरीको समस्या धेरै हुन्छ,’ उनले भने, ‘जानाजानी योजना बनाएरै गर्ने भएकाले चोरी एउटा वास्तविक अपराध हो। त्यसलाई रोक्न निक्कै चुनौतीपूर्ण छ।’
डीआईजी खापुङले चोरीमा संलग्नलाई कारबाहीका लागि कडा कानुन आवश्यक देखिएको उल्लेख गरे। ‘समाजमा बढ्दो चोरी नियन्त्रण र त्यसमा संलग्नलाई कारबाही गर्न मजवुत कानुन आवश्यक छ। कानुन सहज भयो भने चोरी रोक्न सकिँदैन,’ उनी भन्छन्, ‘कुनै व्यक्ति परिस्थितिले चोर हुँदैन। जन्मजात चोर हुन्छ।’
कुनै अपराध परिस्थितिजन्य हुने भएपनि चोरी चैं वास्तविक अपराध रहेको उनको भनाइ छ। कडा कानुन बनाएर कारबाही गर्न सकेमा चोरी नियन्त्रण गर्न सकिने खापुङ बताउँछन्। आफ्नो कार्यकालमा प्रहरी ऐनले दिएको जिम्मेवारी अनुसार काम गर्ने प्रतिबद्धता उनले जनाए। ‘कानुनले तोकेको जिम्मेवारीमा रहेर काम गर्छु। शान्ति सुरक्षा मजवुत बनाउन मेरो सक्दो प्रयास हुने छ,’ उनले भने, ‘विकास निर्माणलाई शान्ति सुरक्षासँग जोडेर काम गर्ने योजना छ। प्रहरी सेवालाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिन्छु।’
प्रहरी संगठनप्रति आमनागरिकको धेरै भरोसा रहेकाले कुनै पनि गल्ती गर्ने छुट प्रहरीलाई नभएको खापुङको भनाइ छ। ‘धेरै गरिने गाली र आलोचना प्रहरीप्रतिको आमअपेक्षा हो। त्यसलाई नकारात्मक र अन्यथा लिन हुँदैन। मानवीय कमीकमजोरी सुधार्नुपर्छ,’ उनले भने, ‘सबैले भर गरेको संगठन भएकाले धेरै गाली गरिन्छ। प्रहरीको धेरै आलोचना हुन्छ। प्रहरीले गलत गरेमा खबरदारी र सकारात्मक आलोचना गर्नुपर्छ।’
नेपाल घुम्न आउने भारतीय पर्यटक तथा पर्यटकीय क्षेत्रको सुरक्षा, लागूऔषधलगायतका सीमापार अपराध नियन्त्रण, अपराध अनुसन्धान र नियन्त्रण, शान्ति सुरक्षा तथा प्रहरीको नियमित कामकारबाहीमा आफू गम्भीर रहेको खापुङले बताए। उनले लागूऔषधको समस्या निक्कै विकराल बनेको पनि उल्लेख गरे।
गम्भीर समस्याका रूपमा देखिएको ‘क्रस बोर्डर क्राइम’लाई रोक्न सुरक्षा योजना बनाएरै काम गरिने जानकारी उनले दिए। साथै, ‘काउन्टर पार्ट’सँग समेत नियमित भेटघाट, छलफल र समन्वय गरिने उनको भनाइ छ। यद्यपि, जनशक्ति कम हुँदा र सीमित स्रोत साधनका कारण प्रहरीलाई कठिनाइ भइरहेको डीआईजी खापुङले स्वीकार गरे। सीमित स्रोत साधनकै कारण प्रहरीले सबै काम गर्न सम्भव नहुने उनको भनाइ छ।
‘अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षामा प्रहरीले ध्यान दिन्छ। व्यवहारिक हिसाबले सहजीकरण गर्छ। सुरक्षाका दृष्टिले गरिने नियमित चेकजाँचलाई दुःख दिएको रूपमा बुझ्न भएन। कानुनविपरीतका सबै गतिविधि कारबाहीको विषय बन्छन्। तर, प्रहरी अव्यवहारिक बन्दैन,’ उनले भने।
खापुङ माघ ३ गते प्रदेश प्रहरी कार्यालयमा हाजिर भएका हुन्। त्यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए। गृह मन्त्रालयको पुस २४ गतेको निर्णय अनुसार उनले कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन्। विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयले कोशी प्रदेशका १४ वटा जिल्लाको सुरक्षा कमाण्ड सम्हाल्दै आएको छ।