‘साइकल मेरो नशा नशामा छ’

जो साइकल चढ्छन्

‘साइकल मेरो नशा नशामा छ’
भूषण तुलाधर, वातावरण विज्ञ
सुन्नुहोस्

‘जब म अमेरिकाबाट आफ्नो पढाइ सकाएर नेपाल फर्किए त्यस यता साइकलबाहेक अन्य साधनको प्रयोग कमै गरेको छु । अमेरिकाबाट फर्केको अहिले ३० वर्ष भयो। मेरो अन्य गाडी र मोटरसाइकलको लाइसेन्स पनि छैन। यात्रा गर्दा मेरो भरपर्दो र आन्नदको सहयात्री यही एउटा साइकल हो’, कीर्तिपुर नगरपालिका–२ निवासी ५६ वर्षीय भूषण तुलाधर आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘नेपालका बहुसंख्यक नागरिकहरू अहिले पनि साइकल चढछन्। तर, यो अझै संस्कार र व्यावहारिक रूपमा परिणत हुन सकिरहेको छैन।’

तुलाधार वातावरण विज्ञ हुन्। ३० वर्ष अघि अमेरिकाबाट वातावरण इन्जिनियरिङमा स्नातकोत्तर तहसम्मको पढाइ पुरा गरेर नेपाल फर्किएका हुन्। राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालका ३ प्रतिशत घरमा मात्र गाडी, २७ प्रतिशत घरमा मोटरसाइकल र ३५ प्रतिशत घरमा साइकल छन्। यो तथ्यांकले पनि नेपालमा साइकल चढ्नेहरूको संख्या धेरै भएको देखिन्छ। 

तर, काठमाडौंमा १० प्रतिशत घरमा गाडी, ४८ प्रतिशत घरमा मोटरसाइकल र जम्मा १ दशमलव ५ प्रतिशत घरमा साइकल छन्। तुलाधरका अनुसार तराईका जिल्लाहरू बाहेक अन्य ठाउँमा साइकल चढ्ने संस्कृतिको अझै विकास हुन सकेको छैन। 

‘काठमाडौंमा त साइकल चढ्ने कुरालाई सरकारले ध्यानै दिएको पाइँदैन’, तुलाधर भन्छन्, ‘राज्यले साइकल संस्कृतिलाई कति पनि प्राथमिकतामा राखेको छैन।’
उनले नेपालमा साइकलको यात्राले जीवन स्वस्थ्य मात्र नभएर राज्यको अर्थतन्त्रलाई समेत सघाउ पुर्‍याउने विचार व्यक्त गरे। राज्यले गाडी लक्षित यातायातलाई मात्र प्राथमिकता दिएको तर साइकल यात्रालाई ध्यान नदिँदा वातवरण दिनप्रतिदिन बिग्रँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे। 

रुपन्देहीको तिलोत्तमा नगरपालिका, धनगढी उपमहानगरपालिका, ललितपुर महानगरपालिका लगायतका केही सहरहरूमा साइकल लेनलाई पनि प्राथमिकता दिएर सडक निर्माण गरिएको भए पनि देशकै राजधानी काठमाडौं उपत्यकामा यससम्बन्धी चासो नदिएको पाइएको उनले सुनाए। सडक विभागले २० वर्षअघि सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा कुल जनसंख्याको ६ दशमल ६ प्रतिशत मानिसहरू साइकल चढ्नेहरू थिए। तर, ०७८ को राष्ट्रिय जनगणनाअनुसार यो ह्वात्तै घटेर १ दशमलव ५ प्रतिशत जनसंख्या मात्र साइकल चढ्नेहरू रहेको उनले सुनाए। 

‘यो तथ्यांकले पनि के देखाउँछ भने काठमाडौंमा साइकलको यात्रालाई ध्यानै दिइएको छैन’,उनले भने, ‘यहाँ गाडी केन्द्रित मात्र यातायात प्रणालीको विकास भएको छ।’ काठमाडौंको रिङरोडलाई दुईबाट ८ लेनको बनाउँदासमेत साइकल लेन नबाइनु दुःखद पक्ष रहेको उनले सुनाए। सहरहरूमा साइकल चढ्नेहरूलाई राज्यले बाटो नै नदिएको नदिएको उनी दुःखेसो पोख्छन्। 

सर्वसाधारण नागरिकहरूको सहज र सर्वसुलभ पहुँचमा साइकल भएकाले यसको प्रबद्र्धनमा राज्यका तीन तह संघ, प्रदेश र स्थानीय सरकार लाग्नुपर्नेमा उनले जोड दिए। ‘न, पेट्रोल लाग्ने न त डिजेल’, तुलाधर भन्छन्, ‘वातावरणीय हिसाबले पनि साइकल धेरै उपयोगी छ। यसको प्रयोगले मानिसको स्वास्थ्यमा धेरै राम्रो पनि गर्छ।’

आफू तीन दशकदेखि साइकलको यात्रालाई प्रबद्र्धन गर्ने गरी लागि परेकाले परिवर्तन विस्तारै देखिन थालेकोसमेत अनुभव सुनाए। नेपालका लागि साइकल उपयुक्त छ भन्ने कुरा माथिको तथ्यांकले पनि पुष्टि गर्दै लगेको तुलाधर तर्क गर्छन्। साइकल चढ्नेहरूलाई सम्मानसहितको व्यवहार गर्न उनी आम नागरिकहरूलाई सुझाव दिन्छन्। 

नेपालका सहरहरूका अधिकांश यात्राहरू छोटो दूरीका हुने भएकाले साइकलको यात्रा सम्भव भएको समेत उनको भनाइ छ। ‘सहरकेन्द्रित यात्राहरू बढीमा ५ किलोमिटरका हुन्छ’, उनी भन्छन्, ‘काठमाडौं जस्तो ठूलो सहरमा पनि औसत यात्राको दूरी ५ किलोमिटर हो। त्यो दूरी भनेको साइकलमा गर्ने खालको दूरी नै हो।’ गाडी केन्द्रित यातायात प्रणालीलाई सुधार गरी साइकल चढ्ने संस्कारको समेत विकास गर्नेतर्फ सबैले चासो दिन उनले सुझाव दिए। नेपालका सहरहरू धेरै छरिएर नबसेकाले पनि साइकलको सम्भावनालाई उनले उच्च ढंगले देखेका छन्।

अमेरिकामा हुँदा आफूले त्यहाकै गाडीको लाइसेन्स निकालेर चलाउने गरे पनि नेपाल फर्केपछि गाडी वा मोटरसाइकल कसैको पनि लाइसेन्स ननिकालेको उनले जानकारी दिए। ‘मेरो घरायसी र कार्यालयको काम गर्दा साइकलबाटै सम्भव भएको छ, यसले मलाई स्वस्थ्य मात्र होइन फूर्तिलो पनि बनाएको छ’, तुलाधरले भने, ‘अब म नेपालका कुनै पनि सवारीसाधनको लाइसेन्स निकाल्नतर्फ लाग्दिन। साइकललाई नै व्यवस्थित र सुरक्षित यात्राको रूपमा प्रयोग गर्नेगरी राज्यको 
ध्यानाकर्षण गराउँछु।’ 

देशका सबै स्थानीय तहहरूले साइकललाई प्राथमिकता दिएर सडक निर्माण गर्दा छुट्टै लेनसमेत बनाइदिन उनले आग्रह गरे। सरकारले नीति तथा कार्यक्रममा साइकल चढ्ने संस्कृतिलाई प्राथमिकता दिनेगरी योजना बनाउन उनले सुझाव दिएका छन्। देशको सवल अर्थतन्त्रका लागि साइकलको प्रयोगले एउटा इँटा थप्ने उनले दाबी गरे। ‘साइकल मेरो नशानशामा छ’, उनले भने, ‘म यसको प्रवद्र्धनका लागि अझै डटेर लाग्छु।’

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.