हिउँ पर्यो, पालमा कसरी बाँच्ने होला ?

हिउँदको चिसोमा पनि जेनतेन पालमा बास बसिरहेका छांै। फेरि हिउँ पर्यो। पानी पनि पर्यो। मुटु छेड्ने चिसो बढ्यो। तापक्रम माइनस डिग्रीमा झरेको छ। हातखुट्टा कठ्यांग्रिन थालेका छन्। हिमपात भइरहेकाले बाहिर निस्कन सकेका छैनौं। अब त, कसरी बाँच्ने होला ? भन्ने चिन्ता थपिएको छ।
हिमपातले त्रिपालमा बस्दै आएका भूकम्पपीडित परिवारको बिजोग छ। बालबालिका, सुत्केरी, गर्भवती, वृद्धवृद्धा, अपांग, दीर्घरोगीलगायतका नागरिकहरूलाई चिसोले सताउन थालेको छ। विद्यालय खुल्न सकेका छैनन्। बाटोघाटो अवरुद्ध छन्। वस्तुभाउ गोठबाट बाहिर निकाल्न सकेका छैनौं। वस्तुभाउलाई घाँसपात कसरी गर्ने भन्ने चिन्ता पनि उस्तै छ।
हिउँदे वर्षा र हिमपात नहुँदा यसपटक के खाएर बाँच्ने होला भन्ने चिन्तामा थियौं। हिउँदे बाली राम्रोसँग उम्रन पाएको थिएन। आकाशे पानी र हिमपातको भरमा खेतीपाती गर्नुपर्छ। हिमपात हुनु खुसीको कुरा पनि हो। लामो समयको खडेरीपछि भएको हिमपात र वर्षातले पाखोबारीलाई निकै फाइदा पुग्ने छ।
बल्लतल्ल उम्रिएको हिउँदे बाली र फलफूलका बोटबिरुवा सुक्ने अवस्थामा थिए। हिमपात र पानी परेपछि ढिलै भए पनि निकै राहत भएको छ। केही दिन चिसोले सताएपनि हिमपातले बालीनाली र पर्यावरणमा फाइदा पुग्नेछ।
(घर्ती, भेरी नगरपालिका–२ का भूकम्पपीडित हुन्।)
प्रतिक्रिया दिनुहोस !
