छायादेवीलाई देउडा गीत सिकाउँदा. . .

आफ्नाबारे देउडा गीत सुनाइदिँदा दंग पर्दै छायाँदेवी पराजुलीले भन्नुभएको थियो, ‘अब यी गीतहरू हाम्रो पूर्वतिर पनि लैजानू है बाबु।’

छायादेवीलाई देउडा गीत सिकाउँदा. . .

रत्नपार्क मात्र होइन, नारायणहिटी हाम्रो

देशमा गणतन्त्र आए सबैभन्दा राम्रो।
झ्याम्म झ्याम्म।

२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि नागरिकका सम्पूर्ण मौलिक हक–अधिकार वञ्चित भए। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार निलम्बितमात्र भएन, उनलाई र नेता प्रकाशमान सिंहलाई शाही आयोगको अभियोग लगाएर कारागार चलानसमेत गर्‍यो। तत्कालीन राजा ज्ञानेन्द्रले मन्त्रिमण्डलको अध्यक्ष भएर शासन चलाए भने डा. तुलसी गिरी र कीर्तिनिधि विष्टलाई उपाध्यक्ष तोकेर देशमा आफूखुसी शासन चलाए। राजाको प्रतिगमन कदम भनेर विरोध गर्दै लाखौं नेपाली जनता सडकमा उत्रिए। जसलाई २०६२÷०६३ सालको जनआन्दोलन भनेर चिनिन्छ।

सो जनक्रान्ति सफल पार्न नागरिक आन्दोलनको भूमिका महŒवपूर्ण थियो। जनताका लोकप्रिय गायकहरू रामेश, रायन, जेबी टुहुरे, नन्दकृष्ण जोशी, रामकृष्ण दुवाल, जीवन शर्मा आदि नागरिक अगुवाका रूपमा प्रतिगमन कदमको विरोध गर्दै दिनहुँ सडकमा उत्रन्थे। जहाँ गीतका माध्यमद्वारा जनतालाई चेतना जगाइरहेका थिए। कृष्ण पहाडी, डा. देवेन्द्रराज पाण्डे, श्याम श्रेष्ठले नागरिक आन्दोलनको अगुवाइ गरिरहेका थिए। अर्जुन पराजुली, मणि काफ्ले, मातृका पोख्रेल, डा. रामप्रसाद ज्ञवालीलगायत कविले व्यंग्य कविताहरू वाचन गरेर सडक तताइरहेका थिए। अशेष मल्लको अगुवाइमा सडक नाटक मञ्चन भइरहेका थिए। पार्टीका नेता र कार्यकर्ताहरू त्यतिबेला सशक्त रूपमा सडकमा ओर्लन सकेका थिएनन्। बरू नागरिक आन्दोलनको ब्यानरमा रहेर ठूलो संस्थामा उपस्थिति जनाइरहेका थिए।

सुनसरीको इटहरीमा जन्मिएकी छायादेवी पराजुली त्यतिबेला ८५ वर्षको वृद्धा हुनुहुन्थ्यो। आन्दोलनका हरेक कार्यक्रममा दिनहुँ उहाँको उपस्थिति रहने गथ्र्यो। निधारमा तीनधर्के टीका लगाएर हातमा लौरो लिएर कहिले रत्नपार्क, कहिले बानेश्वर, कहिले पाटन त कहिले कीर्तिपुरका ठूला कार्यक्रमहरूमा पुग्नु हुन्थ्यो। आफ्नो उपस्थिति देखाई पानी र फलको भरमा लोकतान्त्रिक देउडा गीतका भाकामा लय मिलाउनु हुन्थ्यो।

त्यसबेलाको आन्दोलनको मुखडा गीतहरू बनेका थिए। रामेश रायनले गाएका ‘गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ। यो देशको मुहार फेर्नलाई उठ’, जेबी टुहुरेले गाएको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भई’ र पंक्तिकारले गाएको ‘झ्याम्म झ्याम्म’ देउडा गीत। हजारौं लोकतन्त्रवादी जनताले प्रतिगमन कदमको विरुद्धमा गाएका माथिका गीतहरूमा साथ, स्वर अनि लोकतन्त्रप्रति भरोसा दिए। छायादेवीलाई सम्मानका साथ लोकतन्त्रवादी ‘आन्दोलनकी आमा’ भनेर सम्बोधन गर्थे। छोराछोरीहरूले मञ्चमा गीत गाइरहँदा आमा भुइँमा नाच्ने गर्नुहुन्थ्यो। झ्याम्म झ्याम्म भन्दै देउडा गीतमा लोली मिलाउनु हुन्थ्यो। सुरक्षाकर्मीको कडा निगरानीमा प्रतिगमन कदमविरुद्ध आआफ्ना रचना प्रस्तुत गरी जनसमर्थन जुटाउनु आफैंमा कठिन कार्य थियो। त्योभन्दा कठिन कार्य हूलमूलमा लोकतन्त्रकी आमा छायादेवी पराजुलीलाई बचाएर सुरक्षितसाथ साँझपख कोठामा पुर्‍याउनु थियो।

एकदिन राजधानीको बागबजारमा विरोधको ठूलै कार्यक्रमको आयोजना हुँदै थियो। पद्मकन्या क्याम्पसको प्रांगणमा पंक्तिकारलाई बोलाएर देउडा गीत भनेको कस्तो गीत हो ? झ्याम्म झ्याम्म भनेको के हो ? भनी प्रश्न गर्नुभयो। तत्काल गीतको रचना गर्दै सुनाए–
छायादेवी पराजुली लोकतन्त्रकी आमा
प्रतिगमन कदमलाई लगाइदिउँला जामा।
झ्याम्म झ्याम्म।

उपस्थित सबैलाई गाएर सुनाएँ। साथै चौरमा आमाको हात समातेर देउडा खेलमा घुम्न लगाएँ। सुरुसुरुमा डेढी कदम चालेर पाइताला मिलाएर घुमाउन उहाँलाई गाह्रो भयो। झन्डै आधा घण्टाको देउडा खेलको पाइताला प्रधान प्रयोग आमाले बुझ्नु भएछ क्यार, दुवै गोडा गीतसँगै चलाउनु भयो। आमाको गीतसंगीतप्रतिको मोह देखेर त्यहाँ उपस्थित सबैजना छक्क परे। त्यहाँ उपस्थित सुदूरपश्चिमका देउडा खेलाडी सबैले आमाको सम्मान गर्दै काँधमा उचाले।
सत्यको विजय हुन्छ असत्यको हार 
लोकतन्त्रको उज्यालो घाम ताप्छौं बारम्बार।
झ्याम्म झ्याम्म 

यी र यस्तै गीत गाउँदै पंक्तिकार त्यस्ताका ३७ पटक हिरासतमा परेको छ। चार महिना महिला प्रशिक्षण केन्द्र जावलाखेल र प्रहरी प्रतिष्ठान महाराजगन्जमा सयौं साथीसँग थुनिन पुगेको छ। त्यहाँ मलाई भेट गर्न आउनुभयो छायादेवी र गीत सुनाउन भन्नुभयो। कति मोह रहेछ उहाँको देउडा गीतप्रति र लोकतान्त्रिक संस्कारप्रति ! २०६३ वैशाख १२ गते आन्दोलनको समाप्तिपछि कारागारबाट हामीहरू छुट्यौं।

सुदूरपश्चिमको महŒवपूर्ण पर्व बिसुको उपलक्ष्यमा २०६३ वैशाखको अन्तिमतिर देउडा समाजले छायादेवी पराजुलीलाई राजधानीमा भव्य समारोहबीच अभिनन्दन गर्‍यो। राष्ट्रिय सभागृहको चौरमा पूर्वप्रम देउवा, यो पंक्तिकारलगायत सयौं देउडाप्रेमीबीच छायादेवी पराजुलीले देउडा खेलेको दृश्य भुल्न नसकिने थियो। त्यसबेलाका प्रायः सबै पत्रपत्रिकाले सो खबर स्नेहपूर्वक तस्बिरसहित प्रकाशित गरेर ठूलो गुण लगाए।

नेपाल हनुमानढोका तस्बिर टाँस्याका छन्
छायादेवी पराजुलीका दन्त हाँस्याका छन् 

आफ्नाबारे देउडा गीत सुनाइदिँदा दंग पर्दै आमाले भन्नुभएको थियो, ‘अब यी गीतहरू हाम्रो पूर्वतिर पनि लैजानु बाबु।’ उहाँले दिएको आशीर्वाद लागेर नै होला धनकुटा, इलाम, झापा, विराटनगर, सिन्धुली र सुनसरीको इटहरीमा विविध समयमा देउडा गीतहरू त्यस क्षेत्रका हजारौं संस्कृति अनुरागीहरूलाई सुनाउने अवसर पाएँ।

​​​​​​​छायादेवी र उक्त जनआन्दोलन सफल पार्ने कयौं महामनाहरू यसबेला यस धर्तीमा हुनुहुन्न। जसले नेपाली संस्कृति र शैलीलाई माया गर्नुहुन्थ्यो। २०६४ सालमा छायादेवी र दुई वर्षपहिले जनवादी गायक जेबी टुहुरेको निधन भयो। उहाँहरूको गीतसंगीतप्रतिको माया र लोकतन्त्र प्राप्तिका लागि उहाँहरूले गरेको योगदान सदैव नवपिँढीका लागि प्रेरणादायी बन्नेछ।

मान्छे चोला मरिझान्छ नामना रैझान्छ 
आज भन्यो भोलि भन्यो जिन्दगी गैझान्छ।
झ्याम्म झ्याम्म।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.