माओवादीको नयाँ समूह खडा गरेर चन्दा आतंक, दुई जना पक्राउ
विराटनगर : माओवादीका नाममा नयाँ समूह खडा गरेर पूर्वी तराईमा चन्दा आतंक मच्चाउने गिरोह सक्रिय रहेको पाइएको छ। प्रहरीका अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी) महावीर नाम दिएर नयाँ भूमिगत संगठन खडा गरी धम्की दिँदै चन्दा आतंक मच्चाइरहेको पाइएको छ।
उक्त समूहमा आवद्ध आपराधिक पृष्ठभूमिका दुई जनालाई विष्फोटक पदार्थ तथा विभिन्न दस्तावेजसहित मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलामको माङ्सेबुङ गाउँपालिका–१ घर गजुरमुखी घर भई काठमाडौंको भीमसेनगोलामा डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको याङवरक गाउँपालिका–१ का ३० वर्षीय विपिन अधिकारी रहेका छन्।
प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको छ। मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार मिश्रलाई मोरङको बूढीगंगास्थित नेमुवा र अधिकारीलाई विराटनगरको परोपकार घाटबाट सोमबार पक्राउ गरिएको हो। दुवै जनाविरुद्ध विष्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको पोखरेलले बताए।
उनका अनुसार पक्राउ परेकाको साथबाट विष्फोटक पदार्थमा प्रयोग हुने ७ वटा डेटोनेटर, १८ फिट ३ इन्च लामो डेडकर्ड, सोडा, चन्दा उठाउन प्रयोग गरिने रसिद (काटिएको र नकाटिएको) तथा चन्दा माग गर्दै पठाउने गरिएको पत्र, खाली खाम, मुक्तिनाथ प्रकाशन गृहको प्रेस कार्ड, मोबाइल, सिमकार्ड, डायरी, एसबीआई बैंकको चेकबुक, डिजिटल स्टाम्पलगायत बरामद भएको छ।
चन्दा माग गर्दै पठाउने गरिएको पत्रमा महासचिव महावीर भनेर हस्ताक्षर गरिएको छ। मिश्र र अधिकारी आपराधिक पृष्ठभूमिका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ। एसपी पोखरेलका अनुसार मिश्रविरुद्ध झापामा २०७६ सालमा विष्फोटक पदार्थ सम्बन्धी ४ वटा मुद्दा चलेको पाइएको छ।
अधिकारीविरुद्ध पाँचथरमा २०७६ मा अभद्र व्यवहार मुद्दा चलेको उनले बताए। ‘दुवै जना आपराधिक पृष्ठभूमिका व्यक्तिहरू हुन्,’ उनले भने, ‘पछिल्लो समय नयाँ भूमिगत संगठनमा आवद्ध भएर चन्दा आतंक मच्चाइरहेको पाइएको छ।’ पोखरेलले मोरङ, झापा र सुनसरीका निजी शैक्षिक संस्थामा चिट्ठी पठाउँदै चन्दा असुल्ने गरिएको जानकारी दिए।
चन्दा नदिए बम विष्फोट गराउने धम्कीसमेत दिने गरेको पाइएको छ। ‘माओवादीका नाममा नयाँ र भूमिगत समूह खडा गरी धम्की दिँदै पूर्वी तराईका निजी शैक्षिक संस्थाबाट चन्दा असुली गर्ने गरिएको सूचना केही समयअघि प्राप्त भएको थियो,’ एसपी पोखरेलले भने, ‘त्यसका आधारमा विशेष अप्रेशन चलाएर खोजी तीव्र पारिएपछि दुई जनालाई पक्राउ गर्न सफल भइयो।’ उनका अनुसार महासचिव महावीरको दस्तखत रहेको र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको ‘लेटर प्याड’ प्रयोग गरेर भूमिगत संगठनका नाममा शैक्षिक संस्थाबाट चन्दा असुल्ने गरिएको पत्ता लागेको छ।
प्रहरीका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) तथा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बाट अलग भएकाहरूले नेकपा (माओवादी) महावीर समूह खडा गरेको पाइएको छ। गत भदौमा खडा गरिएको यो समूहमा अन्य दल छाडेका तथा अयोग्य र असन्तुष्ट लडाकुलाई समेत समेट्ने प्रयास गरेको पाइएको प्रहरीले जनाएको छ।
सुरुमा ३५ सदस्यीय कमिटी गठन गरेर महावीर समूहले आफ्ना गतिविधि गर्न थालेको प्रहरी स्रोतले बतायो। ‘केन्द्रीय कमिटी ३५ सदस्यीय रहेछ। अहिले संगठन विस्तारको क्रममा रहेको पाइयो,’ स्रोतले भन्यो, ‘यसको नेतृत्वकर्ता महावीर भनिएको छ। उनका बारेमा पत्ता लगाउन विस्तृतमा अनुसन्धान थालिएको छ।’ पक्राउ परेकामध्ये मिश्र महावीर समूहको झापा इन्चार्ज रहेको प्रहरीको भनाइ छ। त्यसअघि उनी नेकपा (बहुमत)का झापा इन्चार्ज थिए। महावीर समूहमा आवद्ध भएका अन्य व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
महावीर समूहले कहाँबाट कति रकम चन्दा उठायोभन्ने यकिन हुन बाँकी रहेको र अनुसन्धान भइरहेको एसपी पोखरेलले बताए। ‘बम विष्फोट गराइदिने धम्की दिँदै केही समयदेखि त्रसित बनाएर शैक्षिक संस्था केन्द्रित चन्दा आतंक मच्चाइरहेको पाइयो,’ उनले भने, ‘तर, बेलैमा प्रहरीले नियन्त्रणमा लिएका कारण उक्त समूहको कार्यक्रम असफल भयो।’ प्रहरीका अनुसार यो समूहले यसअघि झापा र सुनसरीका केही निजी विद्यालयमा चन्दा उठाइसकेको पाइएको छ। विद्यालयको स्तर र हैसियत हेरेर चन्दा माग गर्ने गरिएको प्रहरीको भनाइ छ।
‘प्रेसर कुकर’ बम डिस्पोज
विराटनगर महानगरपालिका–३ स्थित घरेलु तथा साना उद्योग कार्यालयनजिकै भेटिएको शंकास्पद वस्तु ‘प्रेसर कुकर’ बम रहेको पुष्टि भएको छ। उक्त बम मोरङको थलाहास्थित नेपाली सेनाको भैरव गणबाट खटिएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ।
घरेलु तथा साना उद्योग कार्यालयबाट लगभग २ सय मिटर पश्चिममा आँपको रुख रहेको चउरमा सोमबार साँझ अन्दाजी २ लिटरको प्रेसर कुकरमा टेपले बाँधेर बिजुलीको तार जडान गरी राखिएको शंकास्पद वस्तु फेला परेको थियो। घटनास्थललाई रातभर प्रहरीले सुरक्षा दिएर राखेको थियो।
मोरङ प्रहरी प्रमुख एसपी पोखरेलले उक्त वस्तु नेपाली सेनासँगको समन्वयमा मंगलबार बिहान १०:४३ बजेतिर डिस्पोज गरिएको जानकारी दिए। निस्कृय बनाउने क्रममा शंकास्पद वस्तु प्रेसर कुकर बम रहेको पुष्टि भएको हो। कुकरमा ३ वटा डेटोनेटरसमेत जडान गरेर बम तयार गरिएको पाइएको सैनिक स्रोतले बतायो। स्रोतका अनुसार डेटोनेटर जडान गरिएको कुकरभित्र साबुनको डल्ला र ढुंगा फेला परेको छ। ‘डेटोनेटरले कुकरलाई विष्फोट गराउन मद्दत गर्छ। साबुनले बारुद (जिलेटिन)को काम गर्छ। डेटोनेटर र साबुनको मिश्रणले ठूलो आवाज र धमकासहित कुकरलाई विष्फोट गराउँछ। कुकरभित्र राखिएको ढुंगाले वरपर क्षति पुर्याउँछ,’ सैनिक स्रोतले भन्यो। स्रोतका अनुसार बेलैमा बम निष्कृय पार्न सकिएका कारण ठूलो क्षति हुन पाएन।
यस विषयमा नेपाली सेनाले थप अनुसन्धान गरिरहेको छ। कुकरभित्र भेटिएका अवशेषलाई परीक्षणका लागि प्रयोगशालामा पठाइएको स्रोतले बतायो। उक्त बम कहाँ लगेर विष्फोट गराउने योजना थियो भन्ने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ। ‘कतै लगेर विष्फोट गराउने योजनासहित बम बनाइएको हुनसक्छ,’ प्रहरी स्रोतले भन्यो।
स्रोतका अनुसार पक्राउ परेका मिश्र र अधिकारीले ‘प्रेसर कुकर’ बम बनाएर आफूहरूले नै राखेको स्वीकार गरेका छन्। बम विष्फोट गराएर जनमानसमा त्रास सिर्जना गर्ने र चन्दा असुल्ने योजना उनीहरूको रहेको प्रहरीको भनाइ छ। बम राखेको स्थान उनीहरूले नै प्रहरीलाई देखाएका थिए। ‘फागुन १ गतेलाई लक्षित गरेर बम बनाइएको स्वीकार गरेका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘जनमानसमा त्रास सिर्जना गर्ने र चन्दा आतंक मच्चाउने मुख्य उद्देश्य रहेको पाइयो छ।’