सवारी दुर्घटनाको कारण खोज्न सर्वपक्षीय बैठक
बुटवल : लुम्बिनी प्रदेशमा सवारी दुर्घटना हुने क्रम नरोकिएपछि लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले बैठकको आह्वान गरेको छ।
सवारी दुर्घटनाको कारण र यसको रोकथामको उपाय खोज्नका लागि फागुन १४ गते सर्वपक्षीय बैठक आह्वान गरिएको उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले जानकारी दिए।
बैठकमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुख, प्रदेश ट्राफिक प्रमुख, १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवसायी र यातायात सम्बद्ध सबै मजदुर संघ/संस्थाबाट प्रतिनिधित्व हुने उनले बताए। ‘सडक दुर्घटनाप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको छ’, मन्त्री थापाले भने,‘संयुक्त बैठकपछि दुर्घटना न्यूनीकरण गर्न विशेष निर्णय लिनेछौँ।’
पछिल्लो समय लुम्बिनी प्रदेशमा सवारी दुर्घटना हुने क्रम रोकिएको छैन। मंगलबार बिहान महेन्द्रनगरबाट काठमाडौं छुटेको रात्रि बस कपिलवस्तुमा दुर्घटना हुँदा घटनास्थलमै १० जनाको ज्यान गएको छ। त्यसको अघिल्लो दिन पाल्पामा जीप दुर्घटना हुँदा १० जनाकै ज्यान गएको थियो। सडक दुर्घटना रोक्नका लागि सरकारले चासो नदेखाएको भन्दै नागरिकहरूले आलोचना गरेका थिए।
लुम्बिनी प्रदेशका राजमार्गहरू पछिल्लो समय मृत्युमार्ग बनिरहेका छन्। पछिल्लो पाँच वर्षमा सवारी दुर्घटनामा परी लुम्बिनी प्रदेशका १२ जिल्लाका २ हजार ८ सय ३७ जना नागरिकले अकालमै ज्यान गुमाएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार लुम्बिनी प्रदेशमा साना ठूला गरी झन्डै साढे पाँच वर्षको अवधिमा ५ हजार १० भन्दा बढी सवारीसाधन दुर्घटनामा परेका छन्। ५ हजार ५ सय ५५ जना गम्भीर र ३ हजार ५ सय २ जना मानिस सामान्य घाइते भएका छन्।